चाडपर्व लक्षित सहुलियत पसल पोखरामा पनि सञ्चालन
  • प्रमुख खबर

भाद्र ३०, पोखरा ।।
पोखरामा सोमबार(आज)देखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालयले दशैं, तिहार र छठलाई ध्यानमा राख्दै आगामी कात्तिक १० गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको हो।

कार्यालय प्रमुख कौशल घिमिरेका अनुसार विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १० बजे देखि दिउँसो ५ बजेसम्म पसल सञ्चालन हुनेछ।

सहुलियत अन्तर्गत उपभोक्ताले विभिन्न प्रकारका चामल, चिनी र अन्य वस्तु सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्।

जसअन्तर्गत कम्पनीले स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८३ रुपैयाँ, सोना मनसुली चामल ५९ रुपैयाँ, चिनी ९५ रुपैयाँ र जेठो बुढो चामल २ सय ४५ रुपैयाँमा उपलब्ध गराउनेछ।

यस्तै अरुवा बास्मती चामल प्रतिकिलो १ सय २० रुपैयाँ, चिनो २ सय ५५ रुपैयाँ, कागुनो २ सय ५५ रुपैयाँ र जुम्ली मार्सी २ सय २५ रुपैयाँमा पाउन सकिने जनाइएको छ।

घिमिरेका अनुसार सबै वस्तुमा ५ देखि १० रुपैयाँसम्मको छुट दिइएको छ। यस पहलले चाडपर्वमा उपभोक्तालाई राहत पुग्ने कार्यालयको विश्वास छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्