चोरीमा संलग्न एक युवक पक्राउ, सुन–चाँदी र विदेशी मुद्रा समेत बरामद
  • प्रमुख खबर

आश्विन २, पोखरा ।।
चोरीमा संलग्न रहेको अभियोगमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका–९ घर भई हाल चाउथे बस्ने ३१ वर्षीय मोती गुरुङ रहेका छन्।

गुरुङले भदौ २४ गते बेलुकी करिब ७ बजे पोखरा महानगरपालिका–१४ चाउथे स्थित दुई घरमा कोही नभएको मौका छोपी विभिन्न सुन–चाँदीका गरगहना र नगद रकम चोरी गरेका थिए।

उक्त घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा गुरुङ दोषी देखिए लगत्तै प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीले उनको कोठाबाट चोरी भएका सामानहरु समेत बरामद गरेको छ। बरामद भएका सामानहरुमा छड्के तिलहरी, पोतेसहितका तिलहरी, जन्तर, बाला, चन्द्रमा, झुम्का, बंगाली टप, औंठी लगायतका सुन–चाँदीका गरगहना रहेका छन्।

त्यस्तै उनको साथबाट फलामको छिनो, रड, तामाको पाला, चरेशको थाल, मोबाइल फोन, नगद ३ हजार ५ सय १३ रुपैयाँ, कोरियन ४६ हजार वोन, मलेसियन ४ सय रिङ्गिट र अमेरिकी १ डलर पनि फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट चोरीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्