असोज ७, पोखरा ।।
आश्विन शुक्ल द्वितीयाका दिन मंगलबार(आज) नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको श्रद्धापूर्वक पूजा–आराधना गरिँदैछ।
‘ब्रह्मा’ शब्दको अर्थ तपस्या भन्ने हुन्छ र यही तपस्याको प्रतिकका रूपमा देवी ब्रह्मचारिणीलाई स्मरण गरिन्छ। शिरमा अर्धचन्द्र, आभूषणले अलंकृत स्वरूप, दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु धारण गरेकी देवीलाई ज्ञान, धैर्य र वैराग्यको देवी मानिन्छ।
पौराणिक मान्यता अनुसार हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई प्राप्त गर्न हजारौँ वर्षसम्म फलाहर, बेलपत्र र अन्ततः निराहार बसेर कठोर तपस्या गरेकी थिइन्।
उनले धैर्य, आत्मबल र दृढ संकल्पका साथ निरन्तर साधना गरेपछि पितामह ब्रह्माले प्रसन्न हुँदै भगवान शिवलाई पति स्वरूप प्राप्त गर्ने वरदान दिए।
ब्रह्मचारिणी देवीको साधना, तप, त्याग, वैराग्य र ज्ञान वृद्धिका लागि विशेष फलदायी मानिन्छ। विद्यार्थी, साधक र योगीहरूका लागि यो आराधना उत्तिकै लाभदायी हुने विश्वास छ।
भक्तजनहरूले आजको दिन देवीलाई सख्खर अर्पण गरी दानपुण्य गरे आयु, शक्ति, भौतिक सुख र दाम्पत्य सुख प्राप्त हुने धारणा छ।
भक्तिपूर्वक गरिएको ब्रह्मचारिणी माताको आराधनाले अनन्त शुभफल प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ। यसै कारण आज देशभरका देवीस्थान तथा घर–घरमा ब्रह्मचारिणी पूजाको गरिँदैछ ।












