दशैं नवरात्र : वीरता र धैर्यको प्रतीक चन्द्रघण्टा देवीको पूजा
  • प्रमुख खबर

Oplus_131072

असोज ८, पोखरा ।।
बडादशैंअन्तर्गत नवरात्रको तेस्रो दिन आज देवी चन्द्रघण्टाको विशेष पूजा–आराधना गरिँदैछ।

घटस्थापना सुरु भएपछि नौ दिनसम्म विभिन्न रूपमा दुर्गामाताको उपासना गर्ने परम्पराअनुसार आज भक्तजनले चन्द्रघण्टालाई स्मरण गरिरहेका छन्।

विशेषगरी संगीत तथा कलासंग सम्बन्धित व्यक्तिहरूले देवी चन्द्रघण्टाको विशेष पूजा गर्ने मान्यता रहिआएको छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा गर्ने परम्परा छ। यसपछि क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र अन्तिम दिन सिद्धिदात्रीको आराधना गरिन्छ।

धार्मिक ग्रन्थ अनुसार चन्द्रघण्टा देवी पार्वतीको सौन्दर्यमयी रूप मानिन्छ । उनको मुकुटमा अर्धचन्द्र जडित हुन्छ र यो घण्टजस्तो देखिने भएकै कारण चन्द्रघण्टा नामकरण गरिएको हो।

देवीको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता र विनम्रता विकसित हुने विश्वास छ।

श्रीमददेवीभागवत लगायतका ग्रन्थमा देवी चन्द्रघण्टाले अमानवीय तथा आसुरी प्रवृत्तिको नाश गरी सज्जनको रक्षा गर्ने उल्लेख गरिएको पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्