असोज १२, पोखरा ।।
बडादशैँअन्तर्गत नवरात्रको छैटौँ दिन आइतबार(आज) कात्यायनी देवीको पूजा आराधना गरी मनाइँदैछ। अष्टमातृकाभित्र पर्ने शक्तिका रूपमा कात्यायनीलाई विशेष पूजा गर्ने परम्परा रहँदै आएको छ। आश्विन शुक्ल षष्ठीका दिन दशैँ घर वा पूजा कोठामा विधिपूर्वक पूजाआजा गरिन्छ।
यसअघि नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएको थियो। त्यसयता क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा र स्कन्दमाताको पूजा सम्पन्न भइसकेको छ।
आज कात्यायनी देवीको आराधनापछि भोलि कालरात्रि, त्यसपछिका दिन महागौरी र सिद्धिदात्री देवीको पूजा गरिनेछ।
यस वर्षको नवरात्र १० रात ११ दिनसम्म फैलिएको छ। भक्तजनहरूले नौ दिनसम्म पूजाआजा गरेर लिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रयोग गर्ने प्रचलन छ। यसरी झन्डै १५ दिनसम्म बडादशैँ पर्वको उत्सव निरन्तर रहन्छ।
देशभरका शक्तिपीठ र देवीस्थानमा बिहानैदेखि भक्तजनको भीड लाग्ने क्रम निरन्तर जारी छ। श्रद्धा र भक्तिसहित गरिएको दुर्गा आराधना र पूजा–पाठले शक्ति, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।












