असोज १२, पोखरा ।।
पोखराको पर्यटकीय गाउँ घार्मी पुग्ने पर्यटक तथा बटुवालाई लक्षित गरी चौतारी निर्माण गरिएको छ । घार्मी अमला बिसौनी सडक खण्डको विरोधी चोकमा ढाडाँपाखा सुन्दर बन बाटिकाको जंगल क्षेत्रमा वर पिपल सहितको चौतारी निर्माण गरिएको हो ।सामुदायिक वन उपभोक्ता समितिको पहलमा पोखरा -१६ पुजारी थर निवासी समाजसेवी बिष्णु प्रसाद अधिकारी र लक्ष्मी अधिकारीले आफ्नै खर्चमा चौतारी निर्माण गर्नुभएको सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए । अधिकारी परिवारले करिब ३ लाख रुपैयाँको लागतमा चौतारी निर्माण गरिदिएका हुन्। चौतारी निर्माणले दैनिक रूपमा मर्निङ वाकका लागि पुग्ने सयौं व्यक्ति र पर्यटकलाई विश्रामका लागि सहज हुने भएको छ।
परिवारको पहलमा आइतबार सो स्थानमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समेत सम्पन्न भयो। कार्यक्रममा कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी’प्यासी’ले वर पिपल सहितको चौतारी प्राचिन धार्मिक संस्कृति र सभ्यताको पहिचान भएको बताउँदै, यस्ता सम्पदाको संरक्षण तथा पुनर्निर्माणमा जोड दिए। चौतारी निर्माणकर्ता बिष्णु प्रसाद अधिकारीले चौतारी निर्माणले यस क्षेत्रमा ओहोर दोहोर गर्ने व्यक्तिलाई सहज हुने बताए।
समाजसेवी कृष्ण प्रसाद अधिकारी, रमेश अधिकारी, विष्णु प्रसाद आचार्य, वन समितिका अध्यक्ष पुष्पराज अधिकारी लगायतकाले धार्मिक दृष्टिले पनि वर पिपलको चौतारी निर्माण हुनु पुण्य कार्य भएको भन्दै, अधिकारी परिवारले गरेको कार्यको प्रशंसा गरे। सो स्थानमा प्रतिक्षालय र खानेपानी व्यवस्थापनको समेत समस्या रहेको छ। पुरानो प्रतिक्षालय जीर्ण भएको हुँदा नयाँ निर्माणका लागि पहल भइरहेको अध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए ।
प्रतिक्षालय र खानेपानी व्यवस्थापनको लागि स्थानीय सरकारको समवन्य समेत आवश्यक रहेको बताइएको छ।












