असोज १५, पोखरा ।।
आश्विन शुक्ल नवमीका दिन परेको महानवमी पर्व बुधबार (आज) देशभर धार्मिक उत्साह र भव्यताका साथ मनाइँदैछ।
नवरात्रको नवौँ दिन विशेषगरी नवदुर्गामध्येकी सिद्धिदात्री देवीको पूजाआराधना गर्ने परम्परा छ।
महानवमीका दिन घटस्थापनादेखि राखिएको जमरा शक्तिपीठमा चढाउने प्रचलन रहिआएको छ। काठमाडौंको कोतघर, दशैंघरसहित देशभरका शक्तिपीठ र देवीस्थानमा भक्तजनको भीड लागेको छ।
दुर्गा भवानीको आराधनासँगै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिने परम्परा छ।
यस दिन विभिन्न स्थानमा बोका, राँगो, हाँस र कुखुराको बलि दिने चलन रहेको भए पनि, शाकाहारीहरूले भने कुभिण्डो, काँक्रो, मूला, जटा नरिवल र घिरौँलाको बलि दिएर पायस चढाउने गर्छन्। कतिपय ठाउँमा महाष्टमीमा बलि दिई महानवमीमा ‘मार हान्ने’ संस्कार पनि प्रचलित छ।
मार्कण्डेय पुराण अनुसार, महानवमीकै दिन चामुण्डा देवीले असुर रक्तबीजको वध गरेकी थिइन्। त्यसैले यो दिनलाई शक्ति, साहस र सत्यको विजयको प्रतीक मानिन्छ। कतिपय शक्तिपीठमा आज पञ्चबलि दिने परम्परा पनि रहिआएको छ।
यस अवसरमा घरघरमा कन्यापूजा गरी दक्षिणा दिने र महाकाली, महालक्ष्मी तथा महासरस्वतीको विशेष आराधना गर्ने वैदिक सनातनी परम्परा छ।












