जनजीवन प्रभावित, राजमार्गहरू अवरुद्ध : मुग्लिन–नारायणगढ सडक खण्ड पूर्णरुपमा बन्द
  • प्रमुख खबर

असोज १८, चितवन ।।
अविरल वर्षासँगै निरन्तर ढुंगा खसिरहेपछि मुग्लिन–नारायणगढ सडक खण्डमा दुईतर्फी सवारी आवागमन पूर्णरुपमा रोकिएको छ।

तुइन खोला नजिकै ढुंगा झर्ने क्रम नरोकिएपछि यातायात सञ्चालन असम्भव बनेको भरतपुर सडक डिभिजन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार लगातार ढुंगा खसिरहेको कारणले पहिरो पन्छाउने काम कठिन बनेको छ।

भारी वर्षा भइरहेका बेला यो खण्डमा अझै ठूलो पहिरो खस्ने उच्च जोखिम भएकाले अत्यावश्यक अवस्था बाहेक यात्रामा ननिस्कन आग्रह गरिएको छ।

यदि यात्रा गर्नै पर्ने अवस्था भएमा उक्त खण्डमा सुरक्षा निकायसँग अनिवार्य समन्वय गरेर मात्र यात्रा गर्न विभागले अनुरोध गरेको छ।

सुरक्षाका दृष्टिकोणले अहिले सडक प्रयोग गर्ने सवारीसाधनलाई विभिन्न स्थानमा रोकेर राखिएको छ।

मनसुन सक्रिय रहेकाले देशका विभिन्न राजमार्गहरूमा अवरोध देखिएको छ भने जनजीवन पनि प्रभावित बनेको छ।

यस्तै सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा घोषणा गरिसकेको छ। मौसमविद्हरूले मनसुन अझै दुई दिन सक्रिय रहने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्