आज कोजाग्रत पूर्णिमा : महालक्ष्मी आराधना र दुर्गा पक्षको बिदाइको पवित्र दिन
  • प्रमुख खबर

असोज २०, पोखरा ।।
धन, ऐश्वर्य र सम्पन्नताकी देवी महालक्ष्मीको आराधनासँगै सोमबार (आज) देशभर कोजाग्रत पूर्णिमा मनाइँदै छ।

कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ ।

आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ ।

आजको रात जाग्राम बसेकालाई महालक्ष्मीले धन-धान्य र सुख-समृद्धिको वरदान दिन्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज साँझ महालक्ष्मीको विशेष पूजा आराधना गरी रातभर जाग्राम बसेर यो पर्व मनाइन्छ।

उनले भने,“आजको रातमा जाग्राम बसेका घरमा महालक्ष्मी पृथ्वी भ्रमण गर्दै प्रवेश गर्छिन् र सम्पन्नता प्रदान गर्छिन् भन्ने विश्वास छ ।”

आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादको रुपमा दशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।

बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।

महालक्ष्मी देवीलाई पूजा गरी दुर्गा पक्षलाई बिदा गरिने यो दिनलाई कौमुदी पूर्णिमा पनि भनिन्छ। माता दुर्गाका तीन रूपमध्ये महालक्ष्मीलाई आज विशेषरूपमा आराधना गरिन्छ।

यही दिनलाई लक्ष्मीपूजाको १५ दिनअघि सम्पन्न हुने महत्त्वपूर्ण दिनका रूपमा मानिन्छ।

यस्तै, आजकै दिन हात्तीमा आरूढ इन्द्रदेवको पनि पूजा गर्ने प्रचलन छ। समितिका अनुसार भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दशैंको बिदा र तिहारको तयारीको रुपमा पनि लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्