असोज २४, पोखरा ।।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कास्की जिल्लामा मात्र ९२ जना घाइते भएका थिए।
घाइते भएका उनीहरुलाई पनि सरकारले परिचयपत्र र भैपरी खर्च वितरण गर्ने तयारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार(आज) सार्वजनिक सूचना जारी गर्दै सरकारले परिचयपत्र र भैपरी खर्च वितरण गर्ने जनाएको हुँदा घाइतेहरुले आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
सरकारको असोज १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले “जेनजी आन्दोलन घाइते परिचयपत्र” तयार गरेको र असोज २६ गतेदेखि वितरण सुरु हुने जारी विज्ञप्ति मार्फत जनाएको छ।
कास्कीमा स्थायी ठेगाना भएका र आन्दोलनका क्रममा घाइते भएकाहरूले अस्पतालको उपचार पूर्जी वा डिस्चार्ज कागजात, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल), दुई प्रति पासपोर्ट साइज फोटो र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि समावेश गर्नुपर्ने सो सूचनामा उल्लेख गरिएको छ।












