असोज ३०, पोखरा ।।
मुग्लीन सडक विस्तार आयोजना अन्तर्गत पोखरा खण्डको सडक सौन्दर्यीकरण, वृक्षारोपण र स्थानीय समस्या समाधानका विषयमा आयोजना व्यवस्थापन र पोखरा महानगरपालिकाबीच परामर्श भएको छ।
आयोजनाका प्रोजेक्ट म्यानेजर कृष्णबहादुर कुवँरले महानगर प्रमुख धनराज आचार्यसँग भेटघाट गर्दै हालसम्मको कामको प्रगति विवरण प्रस्तुत गरेका छन् ।
सो क्रममा निर्माणाधीन सडकमा सडक बत्ती जडान, फुटपाथ व्यवस्थापन, सौन्दर्यीकरण र सडक क्षेत्राधिकारसँग सम्बन्धित समस्या समेत छलफल गरिएको महानगरले जनाएको छ।
नगर प्रमुख आचार्यले उक्त सडकलाई पोखरा र गण्डकी प्रदेशकै जीवनरेखा भएकाले ढिलाइ नगरी बाँकी काम तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिए । उनले निर्माण ढिलाइले जनजीवन र आवागमनमा प्रत्यक्ष असर पुर्याएको बताए।
यसैबीच आयोजना व्यवस्थापक कुवँरले बाँकी काम समयमै सम्पन्न गर्न आवश्यक जनशक्ति र उपकरण परिचालन गरिसकेको जानकारी दिए।
उनले स्थानीय रूपमा देखिएका समस्याहरू समाधानमा समन्वय गरिदिन महानगरपालिका प्रमुख आचार्यलाई अनुरोध समेत गरे ।









