कार्तिक २, सप्तरी ।।
सप्तरीमा एक पुजारीको अज्ञात समूहबाट गोली हानी हत्या गरिएको छ।
बोदेबर्साइन नगरपालिका–८ काचनस्थित कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको हत्या भएको हो।
७३ वर्षीय साहलाई आइतबार (आज) बिहान करिब २ बजे मन्दिरनजिकै सडकमा निकालेर पिठ्युँतर्फ गोली हानिएको प्रहरीले जनाएको छ।
मन्दिर परिसरमा एक्लै बस्दै आएका पुजारी साहको गोली लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनबाट गएको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले जानकारी दिएका छन्। उनका अनुसार घटनास्थलबाट दुईवटा गोलीका खोका समेत बरामद गरिएको छ।
पुजारी साहको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। एसपी केसीका अनुसार घटनापछि भारतसँगको सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिहरूमाथि कडा निगरानी र चेकजाँच सुरु गरिएको छ।
घटनाको कारण र संलग्न समूहको पहिचानका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।












