यमपञ्चकको दोस्रो दिन आज काग तिहार
  • प्रमुख खबर

Oplus_131072

कार्तिक २, पोखरा ।।
कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार आइतबार(आज)देशभर श्रद्धाका साथ मनाइँदैछ ।

यमराजका दूतका रूपमा मानिने कागलाई आज घर–घरमा मीठा–मीठा परिकार अर्पण गरी तिहारको सुरुवात गरिएको छ ।

यमपञ्चक हिजोदेखि सुरु भएसँगै आज दोस्रो दिन काग तिहार परेको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकोले आज सूर्योदयकालमा काग तिहार मनाउनुपर्ने शास्त्रीय आधारमा निर्णय गरिएको हो ।

समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार “त्रयोदशी तिथि सूर्योदयकालमा परेमा नै काग तिहार मनाउने प्रचलन रहेको छ ।”

हिन्दू परम्परा अनुसार कागलाई सन्देशबाहक र यमलोकका दूत मानिन्छ ।

कागले मानिसले गरेका शुभ–अशुभ कार्यका समाचार यमराजलाई पुर्‍याउने धार्मिक विश्वास रहिआएको छ । त्यसैले आजका दिन कागलाई आदरपूर्वक परिकार अर्पण गरी सन्देशवाहक सन्तुष्ट राख्ने परम्परा छ ।

त्यस्तै भोलि कुकुर तिहार र लक्ष्मीपूजा दुवै एकै दिन परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भोलि दिउँसो २ बजेर ५२ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी लाग्ने भएकाले लक्ष्मीपूजा पनि भोलि नै परेको छ ।

यस्तै कार्तिक ५ गते गोवर्धन पूजा र नेवार समुदायले मनाउँदै आइरहेको आत्मपूजाका रहेको छ। सोही दिन नेपाल संवत् नयाँ वर्ष पनि हो भने भाइटीका तथा किजा पूजा कात्तिक ६ गते परेको छ ।

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्