लागू औषधको अवैध कारोबारमा संलग्न दुई युवक पक्राउ
  • प्रमुख खबर

कार्तिक १३, पोखरा ।।
पोखरामा अवैध रूपमा लागू औषधको कारोबारमा संलग्न दुई जना युवकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले पोखरा–१७ छोरेपाटनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा पोखरा–१२ का २२ वर्षीय राहुल घले र पोखरा–१८ का ३१ वर्षीय सुदिप विश्वकर्मा रहेका छन्।

उनीहरूको साथबाट डाइजेपाम १ सय ४९ एम्पुल, फेनारगन १ सय ४७ एम्पुल र नुर्फिन १ सय ४७ एम्पुल गरी जम्मा ४ सय ४३ एम्पुल लागू औषध बरामद गरेको छ।

त्यस्तै प्रहरीले उनीहरूको साथबाट मोबाइल फोन २ थान पनि नियन्त्रणमा लिएको जनाएको छ।

लागू औषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त परिणामको लागू औषध फेला पारेको हो।

पक्राउ परेका दुबै जनामाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरी बहादुर वस्नेतका अनुसार पछिल्लो समय कास्की प्रहरीले लागू औषध दुरुपयोग नियन्त्रणका लागि नियमित निगरानी र कडा कारवाही जारी राखेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्