कार्तिक १७, काठमाडौँ
आन्दोलनरत नर्सहरूको माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा सोमबार पनि बैठक बस्ने भएको छ।
नेपाल नर्सिङ संघले नर्सहरूका विभिन्न मागलाई लिएर शनिबार निजी अस्पताल सञ्चालकसँग सहमति गरेको थियो। तर, आइतबार आन्दोलनरत नर्सहरूले उक्त सहमतिको विरोध गरेपछि संघले आन्दोलनका कार्यक्रमलाई पुनः निरन्तरता दिने घोषणा गरेको छ।
एकतर्फी ढंगले निर्णय गरेको आरोप लगाउँदै नर्सहरू आन्दोलित बनेपछि संघ सहमतिबाट पछि हटेको हो। संघका महासचिव देवकुमारी आचार्यद्वारा जारी विज्ञप्तिमा सरकारले सम्पूर्ण माग पूरा गर्न ४८ घण्टाको अल्टिमेटम दिइएको छ।
नर्सिङ संघर्ष समितिकी संयोजक ज्योति रानाभाटका अनुसार सरकारले तोकेको न्यूनतम तलब र तहगत सुविधा कार्यान्वयन गर्नुपर्ने नै आन्दोलनको ‘बटम लाइन’ हो। उनले मन्त्रालयले विगतमा गरेका परिपत्र र निर्णयहरूलाई हुबहु कार्यान्वयन गर्नुपर्ने माग दोहोर्याइन्।
शनिबार भएको वार्तामा निजी मेडिकल कलेजहरू र ठूला निजी अस्पतालहरूले कात्तिक महिनादेखि सरकारी पाँचौं तह अर्थात् ३४ हजार ७३० रुपैयाँ तलब दिने सहमति गरेका थिए। अन्य निजी अस्पतालहरूले भने हाललाई २७ हजार ७८४ रुपैयाँ तलब दिने र एक महिनाभित्र अस्पताल वर्गीकरण गर्दै सरकारी सरह पुर्याउने सहमति जनाएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा, मन्त्रालयका सचिव डा. विकास देवकोटा, कार्यदलका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्मा र निजी अस्पताल सञ्चालकबीच भएको वार्ताबाट उक्त सहमति बनेको थियो।
तर नर्सहरूले सहमतिको विरोध गर्दै आन्दोलन जारी राखेपछि मन्त्रालयमा सोमबार पुनः बैठक बस्ने तयारी गरिएको छ।













