कार्तिक १७, काठमाडौं ।।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री तथा सचिवहरूलाई सुशासन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड दिँदै १४ बुँदे निर्देशन जारी गरेकी छन्।
सोमबार (आज) सिंहदरबारमा बसेको उच्चस्तरीय बैठकमा उनले जेनजी विद्रोहको मर्म र भावना अनुसार सरकारका सबै निकायले जनताले प्रत्यक्ष महशुस गर्न सक्ने तवरले सुधारात्मक कदम चाल्नुपर्ने बताइन् ।
उनले सबै मन्त्रालयलाई स्पष्ट कार्ययोजना (ब्लुप्रिन्ट) तयार गरी कार्यान्वयनमा लैजान निर्देशन दिँदै प्रशासनिक प्रणालीमा पारदर्शिता र मितव्ययिता सुनिश्चित गर्न आग्रह समेत गरिन् ।
उनले सरुवा–बढुवा प्रणालीलाई निष्पक्ष र खुला बनाउने, सार्वजनिक कोषको प्रयोगमा अर्थ मन्त्रालयले जारी गरेको परिपत्र कडाइका साथ पालना गर्नुपर्ने बताइन्।
यस्तै प्रधानमन्त्रीले उद्योग र लगानीको वातावरण सुधारका लागि निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य बढाउनको लागि निर्देशन पनि दिइन् ।
आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको तत्काल नोक्सानी मूल्यांकन गरी पुनर्निर्माण नीति तथा कार्ययोजना बनाउन पनि उनले सम्बन्धित निकायलाई आदेश दिइन्।
त्यस्तै उनले चुनाव तयारीका विषयमा प्रदेश र संघीय निकायबीचको समन्वय सुदृढ गर्दै जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने समेत बताइन्।













