कार्तिक १८, पोखरा ।।
कास्की प्रहरीले ब्राउनसुगर(खैरो हेरोइन)सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–३२ का बस्ने ३७ वर्षीय बिनोद ढकाल र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनी बस्ने ३८ वर्षीय बिकास लामा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार राति करिब ८ बजे पोखरा तर्फ आउँदै गरेको ग १ ख ४४९९ नम्बरको हाईसबाट उनीहरुलाई पक्राउ गरेका हुन्।
लागू औषध ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले पोखरा–९, पृथ्वीचोकमा सवारी रोक्दै चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट ३.८९ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट १५ दिनको म्याद थप गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिएका छन् ।












