कार्तिक २४, पोखरा ।।
लागू औषध कारोबारविरुद्धको अभियान अन्तर्गत कास्की प्रहरीले दुई छुट्टा-छुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा–१३ बस्ने २६ वर्षीय लक्ष्मण नेपाली र म्याग्दी मालिका गाउँपालिका–६ दरबाङका ३२ वर्षीय ज्ञानबहादुर सार्की रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट डाईजापाम, ब्रुफिनुर्फिन र फेनेरागन गरी ७५ एम्पुल लागू औषध, ३ थान मोबाइल फोन र नगद ८ हजार ३ सय ५५ रुपैयाँ बरामद गरेको छ।
पोखरा–९ नयाँबजारमा शंकास्पद रूपमा हिँडिरहेका यी दुई युवालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले सोमबार(आज) बिहान ९ बजे नियन्त्रणमा लिएको हो।
त्यस्तै हिजो साँझ ५ बजे पोखरा–४ गणेश टोलमा अवैध रुपमा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा बगर प्रहरीले ३० वर्षीय विकास किसान नाम गरेका युवा पक्राउ परेका थिए।

उनको साथबाट प्रहरीले १ सय १६ एम्पुल लागू औषध र १ थान मोबाइल बरामद गरिएको थिए।
पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिएका छन् ।
प्रहरीले पछिल्लो समय लागू औषध नियन्त्रणलाई प्राथमिकता दिँदै पोखरा उपत्यकाका विभिन्न स्थानमा निगरानी र विशेष अभियान तीव्र पारेको जनाएको छ।












