जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गर्ने पाँच जना कास्की प्रहरीद्वारा पक्राउ
  • प्रमुख खबर

कार्तिक २५, पोखरा ।।
जेनजी आन्दोलनका क्रममा पोखरासहित कास्कीका विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा–१० बुद्धचोकका ५० वर्षीय चन्द्र बहादुर थापा, सोही क्षेत्रका ४८ वर्षीय हरी बहादुर थापा (खलि), माछापुच्छ्रे गाउँपालिका–३ का २५ वर्षीय सन्तोष परियार, पोखरा–२६ बुढीबजारका ४० वर्षीय रमेश थापा, र पोखरा–९ का ३५ वर्षीय अभिमन्यु पाण्डे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा गैर–सरकारी कार्यालयहरू, पसल र निजी घरमा तोडफोड, आगजनी र लुटपाट गर्ने व्यक्तिहरूको पहिचानपछि उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूलाई जिल्ला अदालत कास्कीबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरी बहादुर वस्नेतले जानकारी दिएका छन्।

पछिल्लो समय कास्की प्रहरीले जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षति, आगजनी, र हतियार तोडफोड जस्ता घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास पनि जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्