कार्तिक २६, काठमाडौं ।।
देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार(आज) पनि अधिकांश भागमा मौसम सामान्यतया सफा छ भने केही पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा आकाश खुला र मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
त्यस्तै आज राति गण्डकी प्रदेशका उच्च भू-भागमा आंशिक बदली रहँदै अन्य स्थानमा मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले हाल कुनै नयाँ मौसमी प्रणाली विकास नहुँदा आगामी केही दिन मौसम सामान्य रहने संकेत देखिएको समेत जनाएको छ।












