कार्तिक २७, पोखरा ।।
जेनजी प्रदर्शनका क्रममा कास्की जिल्लामा लुटपाट, तोडफोड र आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मादी गाउँपालिका–५, भैसे बस्ने २५ वर्षीय रोशन सापकोटा र पोखरा–१७, घारीकुलोकी ३८ वर्षीया बिमला सापकोटा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ २४ गतेको भएको प्रदर्शनका क्रममा सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर र पसलमा तोडफोड र आगजनी गर्ने व्यक्तिहरूमाथि अनुसन्धान भइरहेका बेला थप दुई जनालाई पक्राउ गरिएको हो।
विषेशगरी उनीहरूले प्रदर्शनका क्रममा माइकिङ गर्दै भीडलाई उक्साउने, तोडफोड गर्न प्रोत्साहित गर्ने र आगजनीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
पक्राउ परेका उनीहरूलाई आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरीबहादुर वस्नेतले जानकारी दिएका छन् ।












