साहसिक खेलको केन्द्र बन्दै पोखरा, सुरु भयो तेस्रो इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता
  • प्रमुख खबर

कार्तिक २७, पोखरा ।।
तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगिता पोखरा-१३, आर्बा स्थित बिजय डाँडामा भइरहेको छ ।

प्रतियोगिताको उद्धघटान पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका छन् । यस प्रतियोगिताको उद्धघटान गर्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टहरु भइरहने भएकाले पोखरा साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए ।

यस्तै विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न बढी नै रुचाउने गरेको उनले बताए ।

मेयर आचार्यले भने,”ड्रागन बोट रेस, क्रस कन्ट्रीलगायत धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुँदै आएकोले पनि खेलकुदसँगै पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुगेको छ।”

प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी छन् ।

१३ बढी देशका १ सय खेलाडी सहभागी हुने अपेक्षा आयोजक कम्पनी डन टिल डस्कले गरेतापनि गत भदौ २३ र २४ गते नेपालमा भएको जेन्जी आन्दोलनले नकारात्मक असर पारेको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माको भनाइ छ ।

उद्धघटान सत्रको अध्यक्षता गरेका पोखरा-१३ का वडाध्यक्ष किरण बरालले ‘पोखरा इन्डूरो रेस’ पोखराकै ब्रान्डका रूपमा स्थापित भइसकेको बताए ।

प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ ।

समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा आयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको थियो ।

यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता गरी दुई वटा संस्करण सम्पन्न भइसकेको छ । यस इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्