मंसिर १, काठमाडौं ।।
पोखरा-२२ स्थित पीपलडाली खाल्से सडक अब लामो प्रतीक्षापछि स्तरोन्नतिको बाटोमा अघि बढेको छ।
सोमबार(आज)आयोजित विशेष कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्यले योजनाको शिलान्यास गर्दै सडक निर्माण कार्य औपचारिक रूपमा सुरू भएको घोषणा गरे ।
विगत लामो समयदेखि स्रोतको अभाव र निरन्तर आश्वासनकै भरमा अलपत्र परेको सडकलाई महानगरले यस वर्ष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले गुणस्तरीय निर्माणमा कुनै पनि प्रकारको सम्झौता नहुने बताए ।
२०८३ साल भदौ ७ गतेभित्र स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी सम्झौता भएको र निर्माण कम्पनीलाई समयमै काम सक्न निर्देशन दिइएको समेत बताइएको छ ।
प्रमुख आचार्यले भने, “सहज पहुँचबिना विकास सम्भव हुँदैन। ग्रामीण क्षेत्रलाई बजारसँग जोड्ने कडी नै स्तरीय सडक हो,।”
उक्त सडक बनेपछि स्थानीय कृषिजन्य उत्पादनको बजार पहुँच सहज र प्रभावकारी बन्ने भन्दै उनले जनप्रतिनिधि तथा स्थानीयलाई उपभोक्ताका रूपमा सहजीकरणमा सहयोग गरिदिन आग्रह गरे ।
त्यस्तै वडा अध्यक्ष हिमलाल बरालले पनि सडक निर्माणमा परेको दीर्घ विलम्ब विभिन्न निकायका अपूरा प्रतिबद्धताका कारण भएको बताउँदै, अन्ततः महानगर प्रमुखको सक्रियता र स्थानीयको आवाजले स्रोत व्यवस्थापन सम्भव भएको उल्लेख गरे ।
यसैबीच कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले वर्षौँदेखिको दुःख अन्त्य भई अब सडक बन्ने भएपछि खुसी व्यक्त गरेका छन्।
स्थानीय विकासको लामो प्रतीक्षालाई अन्त्य गर्दै पीपलडाली खाल्से सडक अब छिट्टै आधुनिक रूपमा रूपान्तरण हुने अपेक्षा गरिएको छ।
३ करोड ७८ लाख ४ हजार ८६ रुपैयाँ ७९ पैसामा ठेक्का पाएको भान्जा/बी एन्ड बी जेभीले करिब ३.५ किलोमिटर लामो सडक ८ मिटर चौडाइ, नाला सहित २ सेमी ब्ल्याकटप पिच गरी निर्माण गर्नेछ।












