आज विश्व शौचालय दिवस: विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै
  • प्रमुख खबर

Oplus_131072

मंसिर ३, काठमाडौं ।।
बुधबार(आज) विश्व शौचालय दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

सन् २०१३ देखि औपचारिक रूपमा मनाउन थालिएको यस दिवसले पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र सरसफाइ क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउने उद्देश्य लिएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वका ३ अर्ब ४० करोड मानिस अझै सुरक्षित सरसफाइ सुविधाबाट वञ्चित छन् भने करिब ३५ करोड ४० लाख मानिस अहिले पनि खुला स्थानमै दिसापिसाब गर्न बाध्य छन्।

यो अवस्थाले दिगो विकास लक्ष्य अर्थात् सबैका लागि सुरक्षित पानी र सरसफाइ—हासिल गर्न चुनौती बनेको संगठनको निष्कर्ष छ।

विशेषतः महिला र बालिकालाई हिंसा, स्वास्थ्य समस्या र अन्य जोखिमबाट बचाउन शौचालयको पहुँच अनिवार्य रहेको राष्ट्रसंघले जनाएको छ।

यस दिनलाई सरसफाइका मुद्दामा वैश्विक रूपमा सक्रिय हुने अवसरका रूपमा उपयोग गर्न संयुक्त राष्ट्रसंघले सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था, समुदाय र विद्यालयलाई विभिन्न कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ।

विद्यालयमा सरसफाइ कक्षा, सामुदायिक सचेतना, नीतिगत छलफल, अनुभव आदानप्रदान, सार्वजनिक संवाद र सरसफाइ अभियानजस्ता गतिविधि आज धेरै देशमा सञ्चालन भइरहेका छन्।

खानेपानी र स्वच्छता प्रवर्द्धनलाई दिगो रूपमा अघि बढाउनुपर्ने आवश्यकता मध्यनजर गर्दै, यो दिवसले सबैलाई सरसफाइको मुद्दामा जोडिन र समाधानमा योगदान गर्न स्मरण गराएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्