मंसिर ०८, पोखरा ।।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय, पोखराका तत्कालीन ६ जना पदाधिकारीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सामुदायिक विद्यालयको भवन कानुन विपरीत निजी विद्यालयलाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । अख्तियारले राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा–१, पुरानो टुँडिखेलको करिब ४ रोपनी जग्गामा निर्मित भवनसहितका सार्वजनिक सम्पत्ति निजी प्रयोगमा लगाई दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, पोखरा महानगरपालिका– १ का वडा अध्यक्ष शाहारा प्रधान,व्यवस्थापन समितिका सदस्य वरुण विक्रम राणा,सोवनाथ भट्टराई, बिष्णुमाया लामिछाने र नारायण प्रसाद चापागाईका साथै अञ्जुली बोर्डिङ स्कूलका सञ्चालक राजु केसी र प्राचार्य सुनिता कुँवर केसीले मिलेमतोमा गरी विद्यालयको नाममा रहेको जग्गा १२ वर्षसम्म निजी स्कुललाई भाडामा दिएको पाइएको अख्तियारको दाबी छ ।
पोखरा महानगरपालिकाको चेतावनी र करार रद्द गराउन भएको निवेदन पश्चात पनि अटेर गरी १५ लाख २९ हजार ४०८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति दुरुपयोग गरेको अख्तियारको ठहर छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।













