मंसिर ११, पोखरा ।।
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानवसेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ।
एभरेस्ट मिडिया हाउस प्रा.लिद्वारा सञ्चालित एभरेस्ट एफ.एम.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफ.एम” कक्ष निर्माणका लागि चौथौं किस्ताका रुपमा थप १लाख एक रुपैयाँ बुधबार प्रदान गरेको हो ।
एफ.एमको पाँचौं वार्षिकोत्सवको अवसरमा बुधबार पोखरामा आयोजित एक कार्यक्रमकाबिच एफ.एमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् ।
एफ.एम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफ.एम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफ.एमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो ।
सोहि प्रतिबद्धता अनुरुप एफ.एमले दोश्रो, तेश्रो र चौथौ वार्षिकोत्सवको अवसरमा क्रमशः पहिलो, दोश्रो र किस्ता गरेर ३ लाख ३ रुपैयाँ प्रदान गरिसकेको छ ।
यस वर्ष प्रदान गरेको रकम एफ.एमको चौथो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले भने,”हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफ.एम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं । अघिल्लो दुई वर्ष पहिलो र दोश्रो किस्ता बुझाएका थियौं । यो चौथो किस्ता हो ।”
संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै रेडियोले वार्षिकोत्सवको सन्दर्भ पारेर गत कात्तिक ६ गते आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५१ युनिट रगत संकलन भएको थियो ।
कार्यक्रममा बोल्दै एफ.एमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफ.एमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेकाले सोहि अनुसार अगाडि बढिरहेको बताइन् ।
कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका कार्यालय प्रमुख सदीश पुनले सहयोगापेक्षीमुक्त समाज बनाउने अभियानमा एभरेस्ट एफएमले होष्टेमा हैंसे गरेको भन्दै धन्यवाद दिए ।
यसैबीच, एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’ रेजिना कटुवाल भएकी छन् । एफ.एमले वर्षभरी काम गरेको आधारमा कटुवाललाई स्टाफ अफ दी ईयर घोषणा गरेको हो ।
कटुवाल काम विशेषले पोखरा बाहिर रहेकाले वार्षिकोत्सव समारोहमा घोषणा मात्रै गरिएको थियो । उनलाई कुनै विशेष अवसर पारेर पुरस्कार प्रदान गरिने सम्पादक श्रेष्ठले जानकारी दिए।
पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला र सम्मान पत्रले सम्मान गरिनेछ ।










