मंसिर १४, काठमाडौं ।।
आइतबार (आज) र भोलि देशभर मौसम आंशिक बदली रहने भएपनि पानी पर्ने सम्भावना न्यून रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बङ्गालको खाडीमा विकास भएको सामुद्रिक आँधी ‘दित्वाह’को प्रभावका कारण अधिकांश भू–भागमा बादल लागेपनि वर्षाको सम्भावना भने देखिएको छैन।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार श्रीलङ्कामा उत्पन्न चक्रवात ‘दित्वाह’बाट आएको सामान्य मौसमी प्रभाव नेपालसम्म देखिए पनि यसले कुनै ठूलो प्रतिकूल असर नपार्ने स्पष्ट पारेका छन्।
उनका अनुसार हाल देखिएको बादलको अवस्था क्षणिक मात्र हुने र वर्षा गराउने खाले प्रणाली नेपालमा विकसित नभएकाले जनजीवनमा ठूलो असर नपर्ने अनुमान गरिएको छ।
यस्तै मौसममा बदली देखिएसँगै देशभर चिसोको मात्रा थप बढ्दै गएको छ। पोखरामा समेत पछिल्लो समय थप चिसो बढेको छ। यससँगै पहाडी र हिमाली भेगमा चिसो अझै बढ्ने सम्भावना रहेको मौसमविद्हरूको अनुमान छ।
बिहान र बेलुकी समयको चिसोका कारण सर्वसाधारण, बालबालिका तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मौसमविद्हरूका अनुसार तत्काल कुनै ठूला प्रणाली विकसित नभएकाले आगामी केही दिनसम्म मौसम आंशिक बदलीकै अवस्थामा रहन सक्ने देखिएको छ।












