पोखरासहित देशभर मौसम बदली, चिसोले जनजीवन प्रभावित
  • प्रमुख खबर

मंसिर १६, मंगलबार ।।
पोखरासहित देशका विभिन्न भू–भागमा मंगलबार(आज) बिहानदेखि मौसम बदली भएको छ। मौसम बदलीसँगै चिसोको प्रभाव बढ्दा सर्वसाधारणको जनजीवन प्रभावित बन्न थालेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखा परेको हो।

यही प्रणालीका कारण यी प्रदेशका धेरै स्थानमा मौसम आंशिकदेखि सामान्य बदली भएको महाशाखाले जनाएको छ। मौसम बदलीसँगै पोखरामा समेत चिसो उल्लेखनीय रूपमा बढेको छ।

चिसो बढेसँगै बिहान र बेलुका सडकमा मानिसहरूको चहलपहल कम देखिएको छ ।

चिसोका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित हुने जोखिम रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहन सक्ने अनुमान गरिएको छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा चिसोको प्रभाव झनै बढ्न सक्ने भएकाले त्यहाँका बासिन्दालाई थप सतर्क रहन परामर्श दिइएको छ।

मौसमविद्हरूका अनुसार हाल सक्रिय न्यून चापीय प्रणालीको प्रभाव केही दिनसम्म आंशिक रूपमा कायमै रहन सक्नेछ। यसका कारण बिहान–बेलुका चिसो अझ बढ्ने, कुहिरो लाग्ने र पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई चिसोबाट जोगिन न्यानो कपडा लगाउन, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा विशेष ध्यान दिन, बिहानको समयमा यात्रा गर्दा अवस्थामा विशेष ध्यान दिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्