मंसिर १७, काठमाडौं ।।
अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस बुधबार(आज) देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
सरकार, सरोकारवाला निकाय, नागरिक समाज तथा अपाङ्गता क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले सचेतनामूलक र प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरेका छन्।
संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ का दिन विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो।
अपाङ्गता भएका व्यक्तिको हक, अधिकार, समान सहभागिता तथा मर्यादामय जीवन सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको छ।
यस वर्ष दिवसको अन्तर्राष्ट्रिय नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ । जसले विकास प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको समावेशी सहभागिता अपरिहार्य रहेको सन्देश प्रवाह गरेको छ।
त्यस्तै अपाङ्गता भएका व्यक्तिको सहज जीवनका लागि कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक सवारी, सडक, पार्क, मठमन्दिर तथा सार्वजनिक संरचनाहरूलाई अपाङ्गता मैत्री बनाउनु नितान्त आवश्यक रहेको सरोकारवालाहरूले औंल्याएका छन्।
र्याम्प, ब्रेल लिपि, संकेत भाषा, श्रवण सहायक उपकरण, अपाङ्गमैत्री शौचालय र सूचना प्रणालीको विकास नगरी समावेशी समाजको निर्माण सम्भव नहुने उनीहरूको भनाइ छ।
त्यस्तै यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका छन् ।
उनले शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी राज्यद्वारा प्रदत्त सबै सुविधा र अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
राष्ट्रपति पौडेलले अपाङ्गता भएका नागरिकलाई राज्यको मूलधारमा सम्मानजनक सहभागिता दिलाउन सरकार, निजी क्षेत्र र समाजको संयुक्त प्रयास अपरिहार्य रहेको उल्लेख गरे।
यस्तै यस अवसरमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकास लक्ष्य प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनीद्वारा जारी शुभकामना सन्देशमार्फत सरकारले अपाङ्गता भएका व्यक्तिको शिक्षामा पहुँच, स्वास्थ्य सेवाको उपलब्धता, रोजगारीको अवसर, सामाजिक सहभागिता, सामाजिक सुरक्षा तथा पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्न निरन्तर काम गरिरहेको बताइन् ।












