चिसो अझ बढ्ने संकेत: पश्चिमी वायुका कारण हिमाली भेग प्रभावित
  • प्रमुख खबर

Oplus_131072

मंसिर २२, काठमाडौं ।।
देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यस कारण पनि सोमबार(आज) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यसैगरी कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थानमा पनि हल्का हिमपात हुन सक्ने सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। जसकारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा तापक्रम अझै घट्ने र चिसोको प्रभाव बढ्ने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभाव अझै केही दिन आंशिक रूपमा कायम रहन सक्ने देखिएको छ। तर तराईका अधिकांश भू–भागमा भने हाललाई मौसम सफा नै रहनेछ।

बिहान र बेलुकाको समयमा चिसो महसुस हुने भएकाले विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई चिसोबाट जोगिन सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्