जेनजी आन्दोलनका घाइतेलाई राहत प्याकेज, ज्यान गुमाएका पत्रकारलाई शहीद घोषणा गर्ने
  • प्रमुख खबर

oplus_0

मंसिर २३, काठमाडौं ।।
नवयुवाले नेतृत्व गरेको प्रदर्शनका क्रममा घाइते तथा अपाङ्ग बनेका नागरिकका लागि सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीसम्बन्धी विशेष व्यवस्था अघि बढाउने निर्णय गरेको छ।

सोमबार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी अर्थात नवयुवा प्रदर्शनका क्रममा घाइते भएका तथा स्थायी अपाङ्गता भोगिरहेका नागरिकहरुका लागि राहत उपलब्ध गराउने उद्देश्यसहित ‘जेनजी घाइते राहत सहायता कार्यविधि २०८२’ स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार उक्त कार्यविधिमार्फत उपचार खर्च, शैक्षिक सहुलियत तथा रोजगारीका अवसर सुनिश्चित गर्ने बाटो खोलिएको छ।

यसलाई नवयुवा आन्दोलनबाट प्रभावित परिवारका लागि महत्वपूर्ण राहतको रूपमा हेरिएको छ।

उक्त मन्त्रिपरिषद् बैठकले अर्को महत्वपूर्ण निर्णय गर्दै गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय समेत गरेको छ।

प्रेस स्वतन्त्रता र जनआन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकारको योगदानको उच्च कदरस्वरूप सरकारको यो निर्णयलाई ऐतिहासिक मानिएको छ।

सरकारको यो निर्णयले आन्दोलनका पीडित परिवारलाई केही हदसम्म राहत र सम्मान दिलाउने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्