मंसिर २५, काठमाडौं ।।
विश्वभर बिहीबार(आज) अन्तर्राष्ट्रिय पर्वत दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। हरेक वर्ष डिसेम्बर ११ तारिकलाई पर्वत दिवसका रूपमा मनाइने गरिन्छ ।
हिमनदी पग्लँदै जानु, पहाड तथा पर्वतीय जीवनमा बढ्दै गएको जोखिम र दिगो पर्वतीय विकासका अवसर तथा चुनौतीबारे जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ।
संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् २००३ देखि मनाइँदै आएको यो दिवस अहिले संसारका अधिकांश मुलुकमा वार्षिक पर्व र सचेतनामूलक अभियानको रूपमा स्थापित भएको छ।
रोमस्थित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को मुख्यालयमा आज विशेष कार्यक्रमहरू आयोजना हुँदैछन्।
पर्वतीय वातावरण, हिमनदीको द्रुत पग्लिने प्रक्रिया, स्थानीय समुदायको जीवनशैली, खानेपानी तथा जैविक विविधतामा परेको प्रभावबारे छलफल, प्रदर्शनी र अन्तरक्रियात्मक सत्रहरू सञ्चालन भइरहेका छन्।
राष्ट्रसंघको तथ्यांक अनुसार विश्वका करिब दुई अर्ब मानिसले पर्वतीय स्रोतबाट प्रवाहित पानीमा निर्भर जीवन बिताइरहेका छन्। यद्यपि पछिल्ला दशकमा पर्वतीय वातावरण तीव्र जोखिममा पर्दै गएको छ।
जलवायु परिवर्तनका कारण हिमनदीहरू चाँडै पग्लिन थालेका छन्, पानीका मुहान सुक्दै गएका छन् र सतही तथा भूमिगत जलस्रोतमा गम्भीर असर परेको छ।
विशेषज्ञहरूका अनुसार यसरी नै संसारभर तापक्रम बढिरहेमा विश्वका धेरै हिमनदीहरू पूर्ण रूपमा हराउने सम्भावना अत्यधिक छ।
यसबाहेक विश्वभर करिब एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदी पग्लँदा बनेका ताल फुट्ने सम्भावित जोखिम (गोल्फ)का कारण अत्यन्त संवेदनशील अवस्थाले गाँजिएका छन्।
नेपाल लगायत अन्य हिमाली मुलुकहरूमा यस्तो जोखिम अझ बढी रहेको विज्ञहरूको चेतावनी छ।
अन्तर्राष्ट्रिय पर्वत दिवसले यिनै चुनौतीबारे वैश्विक समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास, जलस्रोत सुरक्षण र पर्वतीय जनजीवनको सुरक्षा सुनिश्चित गर्न सहकार्य र संयुक्त पहल आवश्यक रहेको विभिन्न सन्देश दिँदै आएको छ।
यस वर्ष पनि विश्वभरको अभियानले पर्वतीय वातावरण र समुदायको भविष्य सुरक्षित गर्न एक–अर्कासँग हातेमालो गर्दै अघि बढ्न आह्वान गरेको छ।












