१० दशकको यात्रा तय गरेको पोखराको ६७औं स्थापना दिवस भव्य कार्यक्रमसहित मनाइँदै
  • सरिता गुरुङ

मंसिर २७, पोखरा ।।
नेपालको पर्यटन राजधानीका रूपमा परिचित पोखराले आजसम्म आइपुग्दा १० दशक लामो ऐतिहासिक यात्रा तय गरिसकेको छ।

स्थानीय प्रशासनिक संरचनाको विकासद्वारा अघि बढेको पोखराको इतिहास समृद्ध, रोचक र परिवर्तनशील छ।

वि.सं. २०१६ साल पौष २ गते पहिलोपटक नगरपालिका घोषणा भएपछि पोखराले औपचारिक शहरको परिचय पाएको थियो । त्यस बेला यहाँको जनसंख्या जम्मा ५ हजार मात्र थियो । त्यसपछिका वर्षहरूमा यसको रुपान्तरण अझ तीव्र गतिमा अघि बढ्यो। जसले गर्दा वि.सं. २०१७ मा नगर पञ्चायतको रूपमा पुनर्गठन गर्दै स्थानीय शासनको स्वरूप बदलियो।

बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै वि.सं. २०४७ मा पोखरालाई पुनः नगरपालिकाको रूपमा मान्यता प्रदान गरियो। ती दिनहरूमा पोखरा तीव्र गतिले फैलँदै थियो ।

शहरीकरण, व्यापार, पर्यटन र पूर्वाधार विकासले यसका सीमाहरू विस्तार हुँदै गए। उक्त विस्तारको निरन्तरतामा वि.सं. २०५२ मा पोखरा उप–महानगरपालिकामा यो परिणत भयो।

यो रूपान्तरणले पोखराको शहरी महत्व, जनसंख्या विस्तार र आर्थिक गतिविधिको वाढलाई झनै प्रस्ट रूपमा देखायो।

पछि संघीय संरचना कार्यान्वयनसँगै २०७३ फागुन २७ गते पोखरा–लेखनाथ महानगरपालिका गठन गरियो। दुई शहरको एकताले पोखराको आकार, जनसांख्यिक शक्ति र प्रशासनिक दायरा अझै व्यापक बनायो।

अन्ततः २०७५ साउन २३ गते यस एकीकृत संरचनालाई औपचारिक रूपमा पोखरा महानगरपालिका नामाकरण गरियो। यही नाम आज देशकै सबैभन्दा ठूलो क्षेत्रफल भएको महानगरपालिकाको रूपमा पहिचान बनेको छ।

४ हजार ६ सय ४ दशमलव २४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो महानगर भूगोलका हिसाबले काठमाडौं भन्दा ९ गुणा र ललितपुर भन्दा १४ गुणा ठूलो छ।

पोखराको शहरी इतिहास केवल प्रशासनिक परिवर्तनको कथा मात्र होइन । यो आर्थिक समृद्धि, सांस्कृतिक विविधता, पर्यटन विस्तार र आधुनिक शहरी विकासको क्रमबद्ध यात्रा पनि हो।

यी प्रत्येक चरणले पोखरालाई एक स्तर माथि उक्लाउँदै आजको विशिष्ट महानगर बनाएको छ। पोखरा बहुजातीय, बहुसांस्कृतिक र सद्भावपूर्ण सहअस्तित्व बोकेको एउटा सुन्दर शहर हो।

यहाँ ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, नेवार, थकाली, तामाङ, विश्वकर्मी, परियारलगायत ४० भन्दा बढी जातजाति  बसोबास गर्छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार महानगरको स्थायी जनसंख्या ५ लाख १३ हजारभन्दा बढी छ। तर बसाइँसराइ तथा शहरीकरणकै कारण आज पोखरामा २० लाखभन्दा बढी मानिस स्थायी र अस्थायी रूपमा बसोबास गरिरहेको अनुमान छ ।

लोकसंस्कृतिका दृष्टिले पनि पोखरा अत्यन्त समृद्ध छ । बालन, सोरठी, तायमचा, घाँटु, सालैजो, भजन चुट्का जस्ता मौलिक लोकसांस्कृतिक पहिचान यहाँको विशेषता हो ।

चारैतिर हरियालीले ढाकिएको पहाडी भू–दृश्य, उपत्यकाभरि फैलिएका हरियो वन र आफ्नो लयमा बगिरहेने नदीले पोखरालाई प्रकृतिको खुला क्यानभासजस्तै रमणीय बनाएको छ।

प्राकृतिक, सांस्कृतिक एवं साहसिक पर्यटनका लागि चर्चित पोखरा हजारौं वर्षबाट अस्तित्वमा आएको फेवाताल, बेगनासताल रुपाताल गरी दर्जनौँ ताल–तलैया र पोखरीहरुले सुशोभित छ।

मनोरम डाँडाकाँडा, प्राकृतिक खोच–गल्छी तथा महेन्द्र, चमेरो, गुप्तेश्वर जस्ता एतिहासिक गुफाहरुले सजिएको पोखरा देश–विदेशका पर्यटकको पहिलो रोजाइमा रहँदै आएको छ।

विन्ध्यवासिनी मन्दिर, शान्ति स्तूपा, पुम्दीकोट भुमेश्वर शिव, तालबाराही, भद्रकाली, माटेपानी गुम्बा, जामे मस्जिद आदि धार्मिक स्थलले पोखराको आस्था र सांस्कृतिक पहिचान झनै गाढा बनाएको छ ।

अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि, मनास्लु आदि हिमाल नजिकबाट अवलोकन गर्न सकिने भएकै कारण पोखरा अन्नपूर्ण पदयात्रा, मर्दी हिमाल, कफुचे, कोरी, धम्पुस, घलेगाँउ, ढोरपाटन जस्ता चर्चित पर्यटन गन्तव्यको प्रवेशद्वारका रूपमा स्थापित छ।

२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनपछि कार्यसम्पादनमा सक्रिय रहँदै आएको यस महानगरले आफ्नो ६७औं स्थापना दिवस भव्य र अर्थपूर्ण कार्यक्रमसहित पहिलो पटक मनाउने तयारी गर्दैछ ।

स्थापना दिवसको अवसरमा भाषा-साहित्यदेखि लिएर विज्ञान प्रविधिसम्म विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ‘पोखरेली नवरत्न’ हरूलाई विशेष सम्मान गरिने भएको छ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार भाषा तथा साहित्य, कला (सङ्गीत, नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद, पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण, विज्ञान प्रविधि तथा नवप्रवर्द्धनलगायत क्षेत्रबाट छनोट गरिएका ९ जना व्यक्तित्वलाई नगद रु. २ लाख २ हजार २ सय २,  ताम्रपत्र, दोसल्ला र पदकसहित ‘पोखरेली नवरत्न सम्मान’ प्रदान गरिनेछ।

स्थापना दिवसकै अवसरमा महानगरपालिकामा कार्यरत कर्मचारीहरूमध्ये सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जना कर्मचारीलाई सम्मान गरिनेछ।

यस्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए प्राप्त गर्ने ६७ जना विद्यार्थी र महानगरस्तरीय कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने १२ जना विद्यार्थीलाई विशेष सम्मान गरिनेछ।

शिक्षा क्षेत्रमा योगदानको कदर गर्दै कक्षा ८ मा विषयगत औसत उपलब्धि हासिल गर्ने ३० जना र एसईई तर्फ ३० जना गरी ६० जना उत्कृष्ट शिक्षकलाई सम्मान गरिने प्रमुख आचार्यले जानकारी दिए ।

यसका साथै कक्षा ८ मा शतप्रतिशत नतिजा ल्याउने १५ विद्यालय, एसईईमा ४९ विद्यालय तथा सामुदायिक र संस्थागत तर्फ सबैभन्दा बढी जिपिए ल्याउने १/१ विद्यालयलाई समेत सम्मान गरिनेछ।

यस अवसरमा महानगरपालिकाका ३३ वटै वडामध्ये सरसफाइमा उत्कृष्ट ३ वडा, महानगर मातहतका कार्यालयहरूमध्ये उत्कृष्ट सरसफाइ कार्यालय साथै महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम पनि छ।

यस स्थापना दिवसको अवसरमा उमेरको ज्येष्ठताका आधारमा ‘महानगर मातापिता’ (ज्येष्ठ नागरिक) सम्मान प्रदान गरिनेछ।

किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि क्विज कार्यक्रम, ‘जीवनदान रक्तदान, रक्तदान जीवन’ भन्ने नारासहित रक्तदान कार्यक्रम तथा पोखराको मौलिक पहिचानका रूपमा स्थापित लोकबाजा सारङ्गी प्रवर्द्धनका लागि सारङ्गी पार्क शिलान्यास समेत गरिनेछ।

स्थापना दिवसको मुख्य समारोहको पूर्वसन्ध्यामा मानवअधिकार चोक, चिप्लेढुंगादेखि सभागृहसम्म सांस्कृतिक झाँकीसहितको र्याली आयोजना गरिनेछ।

यस्तै महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेशी नगरका प्रमुख तथा प्रतिनिधिहरू, देशभरका महानगर तथा उप–महानगरपालिकाका प्रमुखहरू, छिमेकी पालिकाका प्रमुखहरू, पोखरा महानगरपालिकाका पूर्व पदाधिकारी, पूर्व प्रशासकीय अधिकृत तथा अन्य विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्