पौष २, पोखरा ।।
पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसका अवसरमा शिक्षा, सामाजिक सेवा र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, शिक्षक, विद्यार्थी तथा विद्यालयहरूलाई विशेष सम्मान गरिएको छ।
महानगरपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए प्राप्त गर्ने ६७ जना विद्यार्थी तथा महानगर स्तरीय कक्षा ८ को परीक्षामा ४ जिपिए हासिल गर्ने १२ जना विद्यार्थीलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो।
उत्कृष्ट नतिजा ल्याएर पोखराको शैक्षिक गरिमा बढाएको भन्दै उनीहरूलाई सम्मानपत्रसहित कदर गरिएको महानगरपालिकाले जनाएको छ।
यसैगरी कक्षा ८ को परीक्षामा विषयगत रूपमा उच्च औसत उपलब्धि हासिल गर्ने ३० जना र एसइईतर्फ उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेलेका ३० जना गरी ६० जना शिक्षकहरूलाई ‘उत्कृष्ट शिक्षक’को रूपमा सम्मान गरिएको छ।
महानगरका अनुसार शिक्षकहरूको समर्पण र मेहनतकै कारण शैक्षिक उपलब्धि निरन्तर सुधार हुँदै गएको हो।
विद्यालयस्तरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने शिक्षालयहरूलाई सम्मान गरिएको छ। कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने १५ वटा विद्यालय, एसइईमा शतप्रतिशत नतिजा ल्याउने ४९ वटा विद्यालय तथा सामुदायिक र संस्थागत विद्यालयतर्फ सबैभन्दा बढी जिपिए हासिल गर्ने एक–एक विद्यालयलाई विशेष सम्मान प्रदान गरिएको छ।
स्थापना दिवसकै अवसरमा पोखरा महानगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई ‘पोखरा रत्न’ तथा ‘पोखरेली नवरत्न’ प्रदान गर्ने कार्यक्रमसमेत आयोजना गरेको छ।
नगर प्रमुख धनराज आचार्यका अनुसार बुधबार(आज) शिक्षा, स्वास्थ्य, समाजसेवा, प्रशासन, संस्कृति र विकासमा उल्लेखनीय योगदान दिएका व्यक्तित्वहरूलाई पोखरा रत्न प्रदान गरिनेछ ।
महानगरपालिकाका अनुसार आज ‘पोखरेली नवरत्न’ पुरस्कारबाट सम्मानित हुने व्यक्तित्वहरूमा
डा. बुद्धिबहादुर थापा, चन्द्रकान्त बराल, चन्द्रकृष्ण कर्मचार्य, बीरेन्द्र सिंह गुरुङ, अमृत गुरुङ, हरि पाण्डे, तीर्थ श्रेष्ठ र तिलकमान गुभाजू रहेका छन्।
यस्तै पुरस्कृत र सम्मानित हुने एक जना व्यक्तित्वको औपचारिक घोषणा भने आज हुने कार्यक्रममा नै गरिने समेत महानगरले जनाएको छ।
महानगर प्रमुख आचार्यले स्थापना दिवस केवल उत्सव मनाउने अवसर मात्र नभई उत्कृष्ट कार्य गर्नेहरूलाई पहिचान, सम्मान र प्रेरणा दिने दिन भएको उल्लेख गरेका छन्।
उनले आगामी दिनमा पनि शिक्षा र मानव संसाधन विकासलाई महानगरको प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।












