पौष ५, काठमाडौं ।।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा गठित सरकारले आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको छ ।
नवयुवा आन्दोलनपछि गत भदौ २७ गते गठन भएको सरकारको एक सय दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी आम निर्वाचनको तयारी, वित्तीय सुशासन र प्रशासनिक सुधारमा उल्लेखनीय प्रगति भएको दाबी गरेकी छन् ।
यस अवसरमा उनले सम्बोधनका क्रममा देश राजनीतिक संक्रमणको संवेदनशील चरणमा रहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउने जिम्मेवारी सरकारको प्राथमिकता रहेको बताइन् ।
उनले नवयुवाहरुलाई आफ्नो आक्रोश, अपेक्षा र सपनालाई सडकमा होइन, मतपत्रमार्फत व्यक्त गर्न आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते हुने आम निर्वाचनलाई “परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठान” का रूपमा सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज, युवा वर्ग र आम जनतालाई राष्ट्रिय एकताको सूत्रमा बाँधिएर अघि बढ्न आह्वान गरिन् ।
उनका अनुसार उक्त निर्वाचनले नेपाली राजनीतिमा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्नेछ । यस्तै उनले सरकारको तर्फबाट निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिइन्।
उनका अनुसार ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन समेत सुनिश्चित गरिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षाको सवालमा कुनै कसर बाँकी नराखिने उनको भनाइ छ ।
निर्वाचन आयोगलाई आवश्यक बजेट अभाव नहोस् भन्ने उद्देश्यले सरकारले ६ अर्ब ७३ करोड रुपैयाँ सुनिश्चित गरेको प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनको क्रममा बताइन्।
यसको साथै मतदाता नामावली ऐनमा संशोधन गरी निर्वाचनको मिति घोषणापछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरिएको उल्लेख गरिन् । यसलाई सरकारले लोकतान्त्रिक समावेशिताको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
त्यस्तै प्रधानमन्त्री कार्कीले सरकारको एक सय दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासन कायम गर्न ठोस कदम चालिएको दाबी गरिन् ।
उनले पदमा रहँदा वा अवकाश भइसकेपछि समेत लिइँदै आएका अनधिकृत तथा अवाञ्छित सुविधा कटौती गरेर नागरिकले तिरेको कर जोगाइएको बताइन् ।
मापदण्ड विपरीत खटाइएका ५ सय सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरी नागरिक सेवामा परिचालन गरिएको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले अनावश्यक रूपमा सञ्चालनमा रहेका ३८ वटा कार्यालय खारेज गरिएको र ३ सय २३ वटा दरबन्दी कटौती गरी राज्यको व्ययभार घटाइएको उल्लेख गरिन् ।
सम्बोधनकै क्रममा उनले ‘हेलो सरकार’ प्रणालीमार्फत ५० हजारभन्दा बढी नागरिक गुनासाहरू सम्बोधन गरिएको र जसले सरकारप्रति नागरिकको विश्वास बढाउन सहयोग पुगेको स्पष्ट पारिन् ।
यस्तै राष्ट्रिय प्रसारण लाइनमा थप १ सय १ मेगावाट विद्युत जोडिएको जानकारी दिँदै उनले ऊर्जा आपूर्तिमा सुधार आएको दाबी गरिन् ।
भूकम्प तथा अन्य कारणले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मार्फत काम सुरु भइसकेको प्रधानमन्त्री कार्कीले बताइन् ।
उनका अनुसार पूर्वाधार विकास, सेवा प्रवाह र सुशासनलाई आगामी दिनमा अझ प्रभावकारी बनाइनेछ ।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री कार्कीले सरकारको यात्रामा साथ, सहयोग र आलोचनासमेत गर्ने सबैप्रति आभार व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने साझा जिम्मेवारीमा एकजुट हुन आह्वान समेत गरिन् ।












