हुस्सु र कुहिरोले तराई ढाकियो, चिसो बढ्दा दैनिक जीवन प्रभावित
  • प्रमुख खबर

पौष ६, काठमाडौं ।।
तराई क्षेत्रमा (आइताबार)आज पनि हुस्सु र बाक्लो कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको छ। बाक्लो हुस्सुका कारण सडक यातायात र बिहान–बेलुकाको जनजीवन नै प्रभावमा बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हुस्सुका कारण चिसो बढेकोले बिहान र साँझ सावधानी अपनाउन मौसम वैज्ञानिकहरूले सर्वसाधारणमा आग्रह गरेका छन्।

यस्तै हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई उडानमा समस्या भएको छ । योसँगै देशका आन्तरिक र स्थानीय उडानहरू बिहानको समयमा विशेष गरी प्रभावित भइरहेका छन् । कमजोर भिजिबिलिटीका कारण उडान ढिलाइ वा रद्द हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाक्लो हुस्सुका कारण तापक्रम घटेको र चिसो हावा निरन्तर चलिरहेकोले जनस्वास्थ्यमा पनि असर पर्न थालेको छ ।

बाँकेमा अस्ति बिहानदेखि लागेको बाक्लो कुहिरो र हुस्सुसँगै चिसो बढ्दै गएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिएका छन्।

चिसो बढेसँगै बालबालिका, ज्येष्ठ नागरिक र कमजोर स्वास्थ्य भएका नागरिकहरूमा रुघाखोकी र श्वासप्रश्वास सम्बन्धी समस्या बढ्न थालेका छन् ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाले बाक्लो हुस्सुका कारण सबै विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यता सप्तरी तथा खडक नगरपालिकाले विपन्न नागरिकहरूलाई कम्बल वितरण गरेको छ। रौतहटको गौर नगरपालिकाले भीडभाड भएका स्थानहरूमा आगो बाल्न डिभिजन वन कार्यालयसँग दाउरा माग गरेको छ ।

यस्तै पोखरामा पनि आजको मौसमसम्बन्धी तथ्याङ्क अनुसार न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

दिउँसो तापक्रम बढे पनि बिहान र साँझ भने चिसो निकै बढ्ने गरेको हुँदा स्वास्थ्यमा विशेष ध्यान दिन मौसमविद्हरुले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्