डिसेम्बर २१ : उत्तरी गोलार्धमा दिन छोटो र रात वर्षकै लामो हुने
  • प्रमुख खबर

पौष ६, काठमाडौं ।।
आइतबार(आज) डिसेम्बर २१ तारिख यस वर्षकै सबैभन्दा छोटो दिन परेको छ । खगोल विज्ञानमा यस दिनलाई शीतकालीन अयनांत भनिन्छ ।

आज पृथ्वीको उत्तरी गोलार्धमा दिनको अवधि वर्षकै सबैभन्दा छोटो र रातको समय सबैभन्दा लामो हुन्छ।

खगोल शास्त्रीहरूका अनुसार आज सूर्य उत्तरायणबाट दक्षिणायनतर्फ प्रवेश गर्दै कर्कट रेखाबाट मकर रेखातर्फ सर्दै मकर रेखामाथि सिधा पर्छ।

यही कारणले पृथ्वीको उत्तरी गोलार्धमा जाडोयाम तीव्र रूपमा महसुस हुन्छ भने दक्षिणी गोलार्धमा गर्मी याम सुरु हुन्छ।

पृथ्वी आफ्नै धुरीमा करिब २३.५ डिग्री ढल्किएको अवस्थामा सूर्य वरिपरि परिक्रमा गर्छ। यही ढल्काइका कारण वर्षभरि दिन–रातको लम्बाइ परिवर्तन भइरहन्छ।

शीतकालीन अयनांतका दिन पृथ्वीको उत्तरी भाग सूर्यबाट सबैभन्दा टाढा ढल्किएको अवस्थामा हुन्छ, जसले गर्दा सूर्यको किरण कम समय मात्र पृथ्वीमा पर्छ। यसै कारण आज नेपालसहित सम्पूर्ण उत्तरी गोलार्धमा सूर्योदय ढिलो र सूर्यास्त चाँडो हुन्छ। यसैको फलस्वरूप दिन छोटो र रात लामो हुन्छ।

कतिपय वर्षमा सबैभन्दा छोटो दिन डिसेम्बर २२ मा पर्ने गर्दछ। यसको मुख्य कारण पृथ्वीको परिक्रमा अवधि ठीक ३६५ दिन नभई करिब ३६५.२४२२ दिन हुनु हो।

यही समय व्यवस्थापनका लागि अधिवर्षको व्यवस्था गरिएको हुन्छ। यस खगोलीय गणनाका कारण शीतकालीन अयनांत कहिले २१ त कहिले २२ डिसेम्बरमा पर्छ।

खगोल विज्ञानका अनुसार वर्षमा दुई पटक दिन र रात बराबर हुन्छन्। मार्च २१ र सेप्टेम्बर २३ यी दिनलाई विषुव भनिन्छ, जब पृथ्वीको सबै भागमा दिन र रातको अवधि करिब बराबर हुन्छ।

त्यसैगरी वर्षकै सबैभन्दा लामो दिन जुन २१ मा पर्छ, जसलाई ग्रीष्मकालीन अयनांत भनिन्छ। उक्त दिन उत्तरी गोलार्धमा सूर्यको प्रकाश सबैभन्दा लामो समयसम्म पर्ने भएकाले दिन लामो र रात छोटो हुन्छ।

विषेशगरी आजको दिनपछि उत्तरी गोलार्धमा दिनको लम्बाइ बिस्तारै बढ्दै जान्छ भने रात छोटिँदै जान्छ।

खगोल विज्ञानको दृष्टिले महत्वपूर्ण मानिने शीतकालीन अयनांत केवल मौसम परिवर्तनको संकेत मात्र नभई पृथ्वी र सूर्यको अद्भुत सम्बन्धको जीवन्त उदाहरण पनि रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्