तराईमा बिहानै कुहिरोको प्रभाव, उडान र जनजीवन प्रभावित
  • प्रमुख खबर

Oplus_131072

पौष ७, काठमाडौं ।।
तराई क्षेत्रमा पछिल्ला दिनको तुलनामा सोमबार(आज) हुस्सु र कुहिरो केही कम देखिए पनि चिसो भने उस्तै कायम रहेको छ।

जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा तराई भू-भागमा तापक्रम हल्का घटेको छ।

विषेशगरी बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पनि परेको छ।

पश्चिमी वायुको प्रभावले केही दिनयता दिउँसो आकाशमा बादल लाग्ने क्रम बढे पनि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविदहरूले बताएका छन्।

मौसमविदका अनुसार पश्चिमी वायुले तराई–मधेशमा जमेको हुस्सु हटाउन केही हदसम्म मद्दत गरेको छ। तर केही दिनयता दिनभरजसो नै हुस्सु र कुहिरोले घाम देखिन नपाउँदा जाडो बढेको त्यहाँका स्थानीयले बताएका छन्।

पौष महिनाको कठ्यांग्रिँदो चिसोले विशेषगरी विपन्न तथा खुला ठाउँमा बसोबास गर्ने नागरिकलाई बढी समस्या परेको छ।

यस्तै हुस्सु र कुहिरोका कारण दृश्यता घट्दा धनगढी, नेपालगञ्ज, भैरहवा, विराटनगर, चन्द्रगढी, सिमरा लगायतका विमानस्थलमा हवाई उडानहरू समयमै सञ्चालन हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ।

मौसमविदहरूले आगामी दिनहरूमा पनि बिहान र रातको समयमा चिसो बढ्ने तथा कुहिरोको प्रभाव रहिरहने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

जाडोबाट बच्न न्यानो कपडा प्रयोग गर्न, सवारी चलाउँदा सावधानी अपनाउन र आवश्यक नपरेसम्म बिहानको यात्रा नगर्न सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्