दैनिक ४ महिलाको ज्यान लिने क्यान्सरविरुद्ध माघदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन हुने
  • प्रमुख खबर

पौष ८, काठमाडौं ।।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक औसत चार महिलाले ज्यान गुमाइरहेका बेला सरकार यस रोगको रोकथामतर्फ निर्णायक कदम चाल्न अग्रसर भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको राष्ट्रिय खोप अभियान सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि खोप अभियान सुरु गरी फागुनको पहिलो हप्ताभित्र सम्पन्न गर्ने योजना बनाइएको छ।

अभियान स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा र यूनिसेफ नेपालको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको समन्वयमा तयारी भइरहेको छ।

अभियानसम्बन्धी विस्तृत मिति र कार्यतालिका छिट्टै सार्वजनिक गरिने पनि उनको भनाइ छ। यस पटक पनि कक्षा–६ मा अध्ययनरत १० वर्ष पूरा गरेका करिब साढे तीन लाख किशोरीलाई लक्षित गरी खोप दिइनेछ।

गएको वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई एचपीभी खोप दिइएको थियो। गत वर्ष दुई मात्राको खोप प्रयोग गरिएको भए पनि यस वर्ष एक मात्राको खोप दिइनेछ।

खोप सल्लाहकार समितिको सिफारिस अनुसार एक मात्राले पनि पर्याप्त प्रभावकारिता दिने पुष्टि भएपछि एक मात्रा खोपमा सीमित गरिएको डा. गौतमले जानकारी दिए ।

लक्षित समूहका सबै किशोरीलाई खोप कार्यक्रममा सहभागी गराउन विद्यालय, समुदाय र अभिभावकमाझ सचेतना अभिवृद्धि अभियान पनि तीव्र रूपमा सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तथ्याङ्क अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो प्रमुख कारण हो।

यस क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) सङ्क्रमण भएकाले खोप नै दीर्घकालीन र प्रभावकारी समाधान मानिन्छ।

हाल सरकारले १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप निःशुल्क प्रदान गर्दै आएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुअचओ)ले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्ने लक्ष्य राखेको छ। नेपालले पनि यस लक्ष्यअनुसार खोप, परीक्षण र उपचार सेवाको विस्तार गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्