पौष १३, काठमाडौं ।।
आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा उल्लेखनीय रूपमा बढेको छ ।
निर्वाचन आयोगका अनुसार यसपटक ९ लाख १५ हजार १ सय १९ जना मतदाता थपिएका छन् । थपिएका मतदातामध्ये ५ लाख २२ हजार ५ सय ५२ जना पुरुष र ३ लाख ९२ हजार ५ सय ५२ जना महिला रहेका छन् ।
यो सङ्ख्याले निर्वाचनप्रति नागरिकको चासो बढ्दो क्रममा रहेको जसले समावेशी लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाएको आयोगको ठहर छ ।
यस्तै निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै यसपटकको प्रतिनिधिसभा निर्वाचनमा जम्मा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता सहभागी हुने जनाएको छ ।
अन्तिम नामावली अनुसार ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरुष, ९२ लाख ४० हजार १ सय ३१ जना महिला तथा अन्य २ सय जना मतदाता सूचीमा समावेश भएका छन् ।
निर्वाचन आयोगले अन्तिम मतदाता नामावली आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशन गरिसकेको छ ।
त्यस्तै आयोगले मतदाताले मतदानका लागि आफ्नो नामावली दर्ता भए–नभएको सजिलै जाँच गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।
आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकको विवरण समेत अद्यावधिक गरी अन्तिम नामावली तयार पारिएको हो । यसले नयाँ मतदातालाई मतदान अधिकार सुनिश्चित गरेको छ ।
आयोगले मतदाता सङ्ख्यामा वृद्धि भएसँगै मतदान पूर्वाधारसमेत विस्तार गरिएको छ । यसपटकको निर्वाचनको लागि आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकेको छ ।
यो संख्या २०७९ सालको निर्वाचनको तुलनामा ७५ मतदानस्थल र ८ सय ८५ मतदान केन्द्रले बढी हो । विषेशगरी आयोगले मतदातालाई सहज, सुरक्षित र व्यवस्थित रूपमा मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न केन्द्रहरूको संख्या बढाइएको हो ।












