पौष १७, पोखरा ।।
बिहीबार(आज)१३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । “नेपाली टोपीः हाम्रो पहिचान” भन्ने नाराका साथ मनाइँदै आएको छ ।
यो दिवसले नेपाली मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
विषेशगरी नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको दौरा–सुरुवाल, ढाका तथा भादगाउँले टोपी, गुन्यु–चोली लगायतका परम्परागत पोशाकलाई विशेष गरी युवापुस्तामाझ पुनः स्थापित गर्ने उद्देश्यले २०७० सालदेखि राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउन थालिएको हो।
यससँगै विगतमा राष्ट्रिय पोशाकका रूपमा दौरा–सुरुवाल र टोपीलाई औपचारिक रूपमा हटाइएको भए पनि त्यसको संरक्षण र प्रयोगलाई निरन्तरता दिन युवाहरूको स्वस्फूर्त पहलबाट यो अभियान सुरु भएको हो।
पछिल्ला वर्षहरूमा यो अभियानले सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलसम्म व्यापक सहभागिता र समर्थन पाउँदै आएको छ।
यस दिवसको अवसरमा आज काठमाडौं र पोखरा लगायतका देशभरका विभिन्न स्थानहरूमा विविध कार्यक्रमको आयोजन गरिएको छ।
युवा अभियन्ताहरूले राष्ट्रिय पोशाक केवल विशेष दिवसमा मात्र सिमित नराखी दैनिक जीवन, औपचारिक कार्यक्रम तथा अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। यसले नेपाली संस्कृतिको सम्मान बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनीहरूको विश्वास छ।
आज धेरैले राष्ट्रिय पोशाकमा सजिएको आफ्ना तस्बिरहरू सामाजिक सञ्जाल जस्तै फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा पोस्ट गर्दै नेपाली पहिचानप्रति गर्व व्यक्त गर्दै #NepaliTopi, #NationalDressDay, #NepaliIdentity जस्ता ह्यासट्याग प्रयोग गरी युवाहरूले अभियानलाई अझ व्यापक बनाएका छन्।












