चार वर्ष बित्दा पनि पूरा भएन पोखरा–मुग्लिन सडक, म् तेस्रो पटक पुन:थप गरियो म्याद
  • प्रमुख खबर

Oplus_131072

पौष १९, पोखरा ।।
पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड) को निर्माण अवधि तेस्रो पटक थप गरिएको छ।

पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मुख्य जीवनरेखा मानिने यस राजमार्गको काम तोकिएको समयमै सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको मागअनुसार पुनः म्याद थप गरिएको हो।

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार अब उक्त सडक आयोजना आगामी वर्ष २०८३ साल असार १५ गतेसम्म सम्पन्न गर्ने गरी समयावधि थप गरिएको छ।

यसअघि दुई पटक म्याद थप गरिँदा पनि काम पूरा हुन नसकेको उक्त सडक खण्डको तेस्रो पटक समय थप गरिएको उनले बताएका छन्।

एशियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा चार वर्षदेखि निरन्तर रूपमा स्तरोन्नतिको काम भइरहेको यस योजनामा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ।

यस्तै बाँकी रहेको २५ प्रतिशत काम भने थपिएको समयभित्र सक्ने लक्ष्यका साथ काम अगाडि बढेको योजना प्रमुख कुँवरले बताए ।

पश्चिम खण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती नदी पुलसम्म ३८ दशमलव ८८ किलोमिटर सडक खण्ड पर्दछ।

यस खण्डमा चार लेन र आवश्यक स्थानमा छ लेनको सडक निर्माण गरिनेछ। चालू आर्थिक वर्षभित्र सम्पूर्ण सडक खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइने योजना रहेको जनाइएको छ।

यातायात चाप, भौगोलिक जटिलता, मौसमजन्य समस्या र निर्माण सामग्रीको व्यवस्थापनलगायतका कारणले समयमै काम सम्पन्न गर्न कठिनाइ आएको भए पनि अब थपिएको म्यादभित्र गुणस्तरीय र दीर्घकालीन सडक संरचना तयार गरिने बताइएको छ।

देशकै प्रमुख राजमार्गमध्ये एक मानिने पोखरा–मुग्लिन सडक समयमै सम्पन्न नहुँदा दैनिक यात्रु, व्यवसायी तथा पर्यटकहरू समस्यामा पर्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्