पौष १९, पोखरा ।।
पोखरा महानगरपालिका वडा नं. २४ स्थित लौरुक खोलामा निर्माण हुने मोटरेवल पुलको शनिबार(आज) औपचारिक रूपमा शिलान्यास गरिएको छ।

महानगरका प्रमुख धनराज आचार्यले पुलको शिलान्यास गर्दै निर्माण सम्पन्न भएपछि स्थानीयवासीको वर्षौँदेखिको आवागमन समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले पुल अभावका कारण वडा नं. २४ क्षेत्रका नागरिकले लामो समयदेखि सास्ती भोग्दै आएको उल्लेख गरे ।
पुल निर्माण पश्चात् पोखरा महानगरका वडा नं. २४, २३, १८ र अन्नपूर्ण गाउँपालिकाका बासिन्दालाई समेत बाह्रै महिना पोखराको मुख्य बजारसम्म सहज आवागमन सम्भव हुने उनको भनाइ छ।
नगर प्रमुख आचार्यले पुल निर्माणका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनमा कुनै कमी नहुने स्पष्ट पार्दै तोकिएको समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।
यसको साथै उनले स्थानीय तहमा भइरहेको विकास निर्माण कार्यको निगरानी र आवश्यक सहजीकरणमा स्थानीय नागरिकको सक्रिय भूमिका आवश्यक रहेको भन्दै सहयोगका लागि अनुरोध गरे ।
पञ्चासे क्षेत्रतर्फ जाने प्रमुख सडकका रूपमा रहेको यस सडक खण्डको स्तरोन्नतिका लागि विकास साझेदारसँग सम्झौता भइसकेको जानकारी दिँदै महानगर प्रमुख आचार्यले पोखरा महानगरपालिका भित्रको उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै समृद्ध महानगर निर्माणतर्फ दृढतापूर्वक अगाडि बढिरहेको बताए ।
२१.९ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको उक्त पुल आरसिसी बक्स ब्रिज प्रविधिमा निर्माण गरिनेछ। यस पुल २०८३ साल पौष १३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भदौरे निर्माण सेवाले पुलको ठेक्का पाएको छ।
पुलको अनुमानित लागत ३ करोड ७१ लाख रुपैयाँ रहेकोमा उक्त निर्माण कम्पनीले २ करोड ५७ लाख ६५ हजार ४ सय ८४ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो। निर्माण कम्पनीले तोकिएको समयसीमाभित्रै पुल सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
शिलान्यास कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा नं. २४ का अध्यक्ष भरतबहादुर अधिकारी, वडा नं. २३ तथा २४ का जनप्रतिनिधि लगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।












