सामाजिक सद्भाव जोगाउन वीरगञ्जमा कर्फ्यूको समयावधि थपियो
  • प्रमुख खबर

Oplus_131072

पौष २३, वीरगन्ज ।।
जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यूको समय मंगलबार(आज) दिउँसो १ बजेसम्मका लागि थप गरेको छ।

वीरगञ्जमा जारी तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै यसअघि हिजो बेलुकी ६ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू लगाइएकोमा अवस्था पूर्ण रूपमा सामान्य नहुँदा समयावधि थप गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्।

हिजो दिउँसो १ बजेदेखि लागू गरिएको निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन भएपछि प्रशासनले थप कडाइ गर्दै कर्फ्यू लगाएको हो।

प्रमुख जिल्ला अधिकारी दाहालले सबै पक्षलाई संयमित रहन र सामाजिक सद्भाव कायम गर्न विशेष आग्रह गरेका छन् ।

संघीय सरकार, मधेश प्रदेश सरकारका साथै विभिन्न संवैधानिक आयोग र संघसंस्थाले सामाजिक सद्भाव विथोलिने कुनैपनि गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन्।

गृह मन्त्रालयले पनि सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण, भ्रामक तथा उत्तेजक अभिव्यक्ति सार्वजनिक नगर्न चेतावनी दिएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सु-व्यवस्थामा खलल पुर्याउने, साम्प्रदायिक द्वेष फैलाउने, धार्मिक स्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता अवैधानिक क्रियाकलापमा संलग्न व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ।

जहाँसुकै बसेर कानून विपरीतका गतिविधि गरेपनि कारबाही हुने स्पष्ट सन्देश दिइएको छ।

प्रशासनले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा फैलाइने भ्रामक अफवाह र साम्प्रदायिक भावना भड्काउने सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सामाजिक सद्भाव बिथोल्ने सामग्री पोष्ट वा प्रचार–प्रसार गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

मधेशी, थारु र मुस्लिम आयोगले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सबै धार्मिक तथा सामाजिक समुदायबीच आपसी सद्भाव, सहिष्णुता र मैत्री कायम गर्न आग्रह गरेका छन्।

यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले पनि धार्मिक, जातीय तथा सामाजिक सद्भावमा आँच पुर्याउने कुनैपनि गतिविधि नगर्न नागरिकलाई सचेत गराएको छ।

प्रशासनले एक समुदायले अर्को समुदायको धर्म, संस्कृति र आस्थामाथि आघात पुर्याउने, घृणा फैलाउने वा मानमर्दन गर्ने कार्य राष्ट्रिय एकता र सामाजिक सौहार्दताका लागि घातक हुने स्पष्ट पारेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्