वीरगञ्जमा कर्फ्यू हट्यो, धार्मिक र सामाजिक सद्भावका लागि स्थायी संयन्त्र समेत गठन
  • प्रमुख खबर

Oplus_131072

पौष २३, वीरगन्ज ।।
वीरगञ्जमा हिजो बेलुकी ६ बजेदेखि लगाइएको कर्फ्यू मंगलबार(आज) दिउँसो साढे ३ पछि पूर्ण रूपमा कर्फ्यू हटाइएको छ ।

धार्मिक तथा सामाजिक विषयलाई लिएर सिर्जित तनावपछि जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकीदेखि कर्फ्यू जारी गरेको थियो ।

वीरगञ्जका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आज बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले अवस्था सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै कर्फ्यू हटाउने निर्णय गरेको हो।

बैठकमा सुरक्षा अवस्था, सामाजिक सद्भाव र भविष्यमा अपनाउनुपर्ने उपायबारे व्यापक छलफल भएको थियो।

यसैबीच वीरगञ्जमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न स्थायी ‘सद्भाव संयन्त्र’ गठन गर्ने निर्णयसमेत गरिएको छ।

संयन्त्रमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा तथा सरोकारवालाहरू समेत छन्।

भविष्यमा धार्मिक वा सामाजिक विषयलाई लिएर हुन सक्ने विवादलाई समयमै नियन्त्रण गर्ने र आवश्यक परे कानुनी कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी उक्त संयन्त्रलाई दिइएको छ।

आज बसेको बैठकले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय पनि गरेको छ।

त्यस्तै प्रशासनले सबै पक्षलाई संयमता अपनाउन र आपसी सद्भाव कायम गर्न आग्रह गरेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्