पौष २४, काठमाडौं ।।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले झण्डै ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको ‘एकीकृत सुरक्षा योजना–२०८२’ सरकारबाट अनुमोदन भइसकेको छ भने राष्ट्रपतिबाट समेत स्वीकृति प्राप्त भइसकेको छ।
त्यस्तै सेनाको परिचालनसम्बन्धी निर्णय राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको उनले जानकारी दिएका छन्।
निर्वाचनको सम्पूर्ण प्रक्रियामा सेनाले तीन चरणमा भूमिका निर्वाह गर्ने उनले बताए।
निर्वाचनपूर्व मतपत्र छपाइ तथा ढुवानीको सुरक्षा, विमानस्थल, कारागार, ऊर्जा संरचनालगायत संवेदनशील र महत्त्वपूर्ण संरचनाको सुरक्षा, निर्वाचनको दिन मतदान स्थल तथा केन्द्रमा तेस्रो सुरक्षा घेरामा रही सुरक्षा प्रत्याभूति गर्ने र निर्वाचनपश्चात् मतपेटिका संकलन र परिणाम घोषणा अवधिसम्म आवश्यक सुरक्षा व्यवस्था गर्ने प्रवक्ता बस्नेतले स्पष्ट पारे।
यस्तै चुनावलाई सुरक्षित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय र सहकार्य हुने पनि जनाइएको छ।
यससँगै जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा तल्लो तहसम्म एकीकृत तालिम र अभ्यास सञ्चालन गरिनेछ।












