पोखरामा पहिलो पटक ‘प्रतिभा सुपर लिग’: १२ विद्यालय भिड्दै क्रिकेटमा रोमान्चक प्रतिस्पर्धा
  • प्रमुख खबर

Oplus_131072

माघ १५, पोखरा ।।
पोखरामा पहिलो पटक प्रतिभा सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। विषेशगरी यस क्षेत्रमा विद्यालयस्तरीय क्रिकेट खेलको विकास र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यसहित यो प्रतियोगिता हुने भएको हो।

प्रतिभा माविको आयोजना र पोखरा महानगरपालिका क्रिकेट संघको सहयोगमा यस प्रतियोगिता माघ १८ देखि २५ गतेसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने बिहीबार(आज) पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगितामा पोखराभित्रका १२ वटा  विद्यालयको सहभागिता रहनेछ ।

ती १२ विद्यालयहरूमा आयोजक प्रतिभा माविसहित कुमुदिनी होम्स, ग्लोबल कलेजियट स्कुल, गुरुकुल विद्यासदन, छोरेपाटन मावि, जनप्रिय मावि, टप्स मावि, डायमण्ड मावि, यीनेपाल भारत मैत्री विद्यालय, वाराही मावि, बालमन्दिर मावि र मदरल्याण्ड मावि प्रतिष्पर्धामा उत्रिने उनले जानकारी दिए ।

प्राचार्य सापकोटाले यो आफूहरूको पहिलो प्रयास भएको र यसलाई आगामी दिनमा अझ व्यापक बनाउँदै छात्र मात्र नभई छात्रा खेलाडीहरूलाई पनि समान अवसर दिने बताए ।

यस्तै उनले यस सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली विद्यार्थीहरूले कास्की जिल्ला स्तरिय यू–१९ क्रिकेट टोलीमा स्थान बनाउन सक्ने सुनौलो अवसर प्राप्त गर्ने पनि बताए ।

लिग कम नकआउटका आधारमा हुने यस प्रतियोगिताको समूह ‘ए’ मा कुमुदिनी होम्स, छोरेपाटन मावि र टप्स मावि, समूह ‘बी’ मा जनप्रिय मावि, गुरुकुल विद्यासदन र मदरल्याण्ड मावि रहेका छन् ।

यस्तै समूह ‘सी’ मा आयोजक प्रतिभा माविसहित नेपाल भारत मैत्री विद्यालय र वाराही मावि मालेपाटन तथा समूह ‘डी’ मा ग्लोबल कलेजियट स्कुल, डायमण्ड मावि र बालमन्दिर मावि रहेका छन् ।

समूह चरणमा तीनवटै टिमले आपसमा प्रतिष्पर्धा गर्ने र लिगको बिजेताले सेमीफाइनलमा स्थान पक्का गर्ने पोखरा महानगर क्रिकेट संघका अध्यक्ष बिरेन पुनले बताए।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य लक्ष्य केवल खेल जित्नु मात्र नभई विद्यार्थीमा अनुशासन, नेतृत्व, सहकार्य, भातृत्व र खेल भावना विकास गर्नु हो।

विद्यालयस्तरमै क्रिकेटप्रतिको बढ्दो रुचिलाई सम्बोधन गर्दै खेलाडीलाई ठूलो मञ्च दिने उद्देश्य राखिएको छ।

त्यस्तै आयोजक प्रतिभा माविका सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले विषेशगरी विद्यार्थीको प्रतिभा उजागर गर्दै क्रिकेटको विकासमा यो प्रतियोगिता कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास लिएको बताए ।

यसैबीच गण्डकी क्रिकेट संघका सदस्य रविन्सन प्रजूले नीजि क्षेत्रबाट क्रिकेटको विकासका लागि भएको प्रयास सराहनी भएको बताए । उनले प्रतिभाको यस प्रयासले खेलकुद क्षेत्रको विकासमा थप नयाँ आयाम थपेको बताए ।

प्रतियोगिताको बिजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन माघ १८ गते बिहान १० बजे हुनेछ भने समापन तथा पुरस्कार वितरण कार्यक्रम माघ २५ गते गरिनेछ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्