माघ १७, काठमाडौं ।।
एसिसी एसिया कप राइजिङ स्टार्स महिला २०२६ मा नेपाली महिला क्रिकेट टोली नयाँ नेतृत्वका साथ मैदानमा उत्रने भएको छ ।
थाइल्याण्डमा अर्को महिना आयोजना हुने यस प्रतियोगितामा नेपाली टोलीकी क्याप्टेन इन्दु बर्मा चोटका कारण बाहिरिएपछि टोलीकी उपकप्तान पूजा महतोले सम्हाल्ने भएकी हुन्।
आइसिसी महिला टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत गत साता स्कटल्याण्डविरुद्धको अन्तिम खेल खेल्दा इन्दुको ह्यामिस्ट्रिङमा चोट लागेको थियो।
चिकित्सकले उनलाई कम्तीमा ८ साता आराम गर्न सुझाव दिएपछि उनी प्रतियोगिताबाट बाहिरिएकी हुन्। यससँगै टोलीको कमान्ड उपकप्तान महतोको हातमा आएको हो।
उनको कप्तानीमा नेपाली महिला यू–१९ टोलीले विश्वकप खेलिसकेको अनुभव छ, जसले उनलाई सिनियर टोलीको जिम्मेवारी सम्हाल्न थप आत्मविश्वास दिएको छ।
पूजाको नेतृत्वमा नेपालले फागुन १ देखि १० गते (फेब्रुअरी १३–२२) सम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
आठ टोली सहभागी रहने प्रतियोगितामा चार ओडीआई मान्यता प्राप्त राष्ट्रका ‘ए’ टोली र एसियाका शीर्ष चार एसोसिएट राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल यस प्रतियोगिताको समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र युएईसँगै परेको छ।
समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, थाइल्याण्ड र मलेसिया रहेका छन्। राउन्ड रोबिन लिगपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपालले प्रतियोगिताको सुरुवात फागुन १ गते पाकिस्तान विरुद्ध खेल्ने छ। त्यसपछि फागुन ३ मा युएई र फागुन ५ मा भारतसँग प्रतिस्पर्धा गर्ने तालिका छ।













