निपाह भाइरसको त्रासः भारतसँग जोडिएका नाकामा स्वास्थ्य जाँच कडाइ
  • प्रमुख खबर

Oplus_131072

माघ २०, काठमाडौं ।।
भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा यसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा स्वास्थ्य निगरानी कडाइ गरिएको छ।

सुदूरपश्चिम प्रदेशका प्रमुख नाकाहरूमा हेल्थ डेस्कमार्फत यात्रुहरूको स्वास्थ्य परीक्षण तथा अनुगमन तीव्र पारिएको छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट तथा कञ्चनपुरको गड्डाचौकी नाकामा विशेष सतर्कता अपनाइएको छ।

ती सबै नाकामा स्थापना गरिएका हेल्थ डेस्कबाट नेपाल भित्रिने प्रत्येक यात्रुको स्वास्थ्य अवस्था निगरानी गरिँदै आएको छ।

त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई निपाह भाइरसको पहिचान, रोकथाम र व्यवस्थापनबारे अभिमुखीकरण समेत दिइएको जोशीले बताए।

उनले कोभिड–१९ महामारीका बेला तयार गरिएका आइसोलेसन वार्डहरू पुनः तयारी अवस्थामा राखिएको जानकारी समेत दिए।

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएकाले स्वास्थ्यकर्मीहरूले पश्चिम नेपालभन्दा पूर्वी नाकामा जोखिम बढी हुन सक्ने औंल्याएका छन्।

यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिममा पनि सावधानीका सबै उपाय अवलम्बन गरिएको बताइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्रसिंह रावलका अनुसार सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत ज्वरो, टाउको दुख्ने, बान्ता हुने, सास फेर्न गाह्रो हुने लगायत लक्षण देखिएका यात्रुलाई विशेष निगरानीमा राखी आवश्यक परे तत्काल उपचारको व्यवस्था मिलाइएको छ।

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार तथा आइसोलेसनको पूर्वतयारी पूरा गरिएको उनले बताए ।

विषेशगरी निपाह भाइरस चमेरो, सुँगुर तथा सङ्क्रमित व्यक्तिबाट मानिसमा सर्ने भएकाले ती स्रोतहरूबाट हुने संक्रमण रोक्न विशेष ध्यान दिइएको छ।

स्वास्थ्य अधिकारीहरूले सीमावर्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन, अस्वस्थ महसुस भए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न तथा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्