माघ २८, पोखरा ।।
पोखराको महेन्द्रपुलमा अवस्थित काठमाडौं बेकरी विभिन्न प्रकारका बेकरी आइटमाहरुका लागि लोकप्रिय छ। तर यही लोकप्रिय बेकरीबाट खरिद गरिएको केक खाँदा २५ जना बिरामी परेका छन्।
आफ्नो परिवारसँग जन्मदिनको खुशीयाली मनाउन त्यहाँबाट लागिएको केक खाँदा एकाएक उनीहरू अस्पतालको बेडमा पुगेका हुन् ।
यस घटनाले पछिल्लो समय पोखराको खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। यो घटना माघ २४ गते हो, जहाँ परिवारका सदस्यले जन्मदिन मनाउन उक्त बेकरीबाट ल्याइएको केक खाँदा वान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने र कमजोरी हुने जस्ता लक्षण देखिन थालेका थिए।
उनीहरूको स्वस्थ अवस्था बिग्रँदै गएपछि सबैलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। यसपछि मात्र सो घटना बाहिर आएको हो।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार बिरामीमध्ये एक जनाको अवस्था गम्भीर छ भने तीन जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ।
घटनापछि मंगलबार जिल्ला प्रशासन कार्यालय कास्की र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको संयुक्त टोलीले बेकरीमा आकस्मिक अनुगमन गरेको थियो।
उपभोक्ताबाट आएको गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, सरोकारवाला निकाय र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले अनुगमन गरेको थियो।
अनुगमनका क्रममा टोलीले म्याद नाघेका खाद्य सामग्री भण्डारण र बिक्री, उत्पादन मिति, प्रयोग योग्य मिति र ब्याच नम्बर उल्लेख नगरेका सामान, सरसफाइको अभाव, बिल तथा खरिद–बिक्री कागजात उपलब्ध नगराइएको, भण्डारण व्यवस्थापन अव्यवस्थित जस्ता गम्भीर त्रुटि भेटिएको बुधबार(आज) प्रशासनले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलबाड गर्ने गरी म्याद गुज्रेका तथा लेबल नभएका खाद्य सामग्री बिक्री गरेको पुष्टि भएपछि प्रशासनले बेकरीलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ भने आगामी दिनमा कडाइका साथ मापदण्ड पालना गर्न निर्देशन दिएको छ।
विज्ञप्तिमा जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा दाखिला भइसकेको प्रशासनले जनाएको छ।
यस्तै प्रशासनले व्यवसायीलाई अबका मितिबाट मूल्यसूची र कागजात अनिवार्य राख्न, सरसफाइमा विशेष ध्यान दिन, म्याद गुज्रेका सामग्री अलग राखेर सुरक्षित नष्ट गर्न, लेबल र उत्पादन विवरण अनिवार्य उल्लेख गर्न स्पष्ट निर्देशन समेत दिइएको छ।
त्यस्तै यस घटना पश्चात प्रशासनले खाद्य तथा अखाद्य सामग्री मिसाएर उत्पादन तथा बिक्री वितरण गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ।













